झिलीमिली र फूलको पर्व हो, तिहार । तिहारमा अत्याधिक सयपत्री फूलको खपत हुन्छ । अहिले बजार फूलैफूलले भरिपूर्ण छ । तर, यसपटक भने विगतका वर्षभन्दा फूलको भाउ सस्तिएको छ । उपभोक्ताहरुले फूलको भाउ पहिलेभन्दा सस्तो भएको बताएका छन् । पोहोर दुई सय रुपैयाँ पर्ने फूलको गुच्छा अहिले ३० देखि ५० रुपैयाँमा पाइन्छ ।
फूल सस्तो दिँदाखेरि पनि व्यापार नभएको गुनासो व्यापारीहरुले गरिरहेका छन् । अघिल्ला सालहरुमा फूल र माला पसलहरुमा खपत हुन्थ्यो । सटरमा लगाउन र पसल सजाउन फूलको प्रयोग हुन्थ्यो । व्यापार हुन्थ्यो, कमाइ थियो र व्यापारीहरुले पसल सजाउँथें । अहिले अवस्था फेरिएको छ । अधिकांशले सटर नै छोडिसकेका छन् ।
व्यापार–व्यवसाय सुकेपछि व्यापारीहरुले पसल गर्न छोडिदिए । अधिकांश व्यापारी विदेश पलायन भएका छन्, कसले फूल किन्ने ? ६० देखि ७० प्रतिशतले पसल छोडेका छन् । सँधै प्याक हुने काठमाडौं उपत्यकासहित अन्य जिल्लाका सटरहरु खाली छन् । भाडा तिर्न नसकेपछि व्यापारीहरुले सटर छोडे ।
गाउँबाट फूल बेच्न शहर छिरेका एक जना किसानले भने,‘पोहोर यति नै फूल ल्याउँदाखेरि २० हजार रुपैयाँ भएको थियो । अहिले त पाँच हजार पनि हुँदैन जस्तो छ ।’ फूल बिक्री नभएपछि किसानहरु निराश भएका छन् । गाउँ आउन र जानकै दुःख भएको उनीहरुको भनाइ छ ।
गाडी भाडासमेत उठाउन मुस्किल पर्ने भएपछि किसानहरु समस्यामा परेका छन् । गाउँबाट आएकालाई फूल बिक्री नभएपछि के गर्ने र कहाँ जाने भन्ने आपत् भएको छ । जसको फाइदा यहाँका बाठाटाठा व्यापारीहरुले उठाइरहेका छन् । किसानहरुले आफ्नो दुःखको मूल्यसमेत नपाएको अवस्था छ ।
दुई सय रुपैयाँमा व्यापारीहरुले फूलको पोका नै उठाइरहेका छन् । किसानहरुलाई फूल सकाएर घर फर्किन हतारो छ, व्यापारीहरुलाई त्यसकै फाइदा भएको छ । ‘फूल बिक्री नभएपछि व्यापारीलाई सस्तोमा जिम्मा लगाउनुपर्यो । घर जान हतारो भइसक्यो, गाडी पाउँदैन् । यहाँसम्म आउनुको दुःख मात्र भयो । बरु, गाउँमै गाईवस्तुलाई खुवाइदिन्थें’, अर्का एक किसानले गुनासो पोखे ।
व्यापारीहरुले त्यही फूल गुच्छा बनाउँदै ३०, ५० र एक सय रुपैयाँमा बेचिरहेका छन् । फूल मात्रै होइन्, अन्य सामानको व्यापारमा पनि मन्दी छाएको छ । भाइमसला, फलफूल, माटाका भाँडाहरुको व्यापार पनि पहिलेभन्दा सुस्ताएको छ । यिनीहरुको भाउ घटेको त छैन्, तर खासै व्यापार छैन् ।
अहिलेको साल पोहोरजति झिलीमिलीको व्यापार पनि भएको व्यापारीहरुको दुःखेसो छ । व्यापारीहरु चाडबाडले बजार चलायमान हुने आशा गरिरहेका थिए । तर, अहिले आएर उनीहरुको आशा निराशामा बद्लिएको छ । सर्वसाधारणसँग पैसा नभएकाले व्यापार सुस्ताएको उनीहरुको भनाइ छ ।
व्यापारीहरुको भनाइ ठीकै हो । एकातिर मँहगी छ अर्कोतिर बेरोजगारी । सर्वसाधारणहरुले अहिले फजुल खर्च गर्न छोडेका छन् । खानै धौ धौं परेको बेला कसले झिलीमिली किनोस् ? बजारमा आर्थिक मन्दी छ । जसको असर सबैलाई उत्तिकै भइरहेको छ । बेरोजगारी ह्वात्तै बढेको छ ।
देशका जिम्मेवार पदाधिकारीभन्दा गाउँबाट फूल बेच्न आएकालाई अर्थतन्त्रबारे राम्रोसँग थाहा भएको छ । मुलुक नाजुक अवस्थाबाट गुज्रिएको छ भन्ने विषयमा सर्वसाधारण छर्लङ्ग छन् । तिहारपछाडि यो अवस्था थप गम्भीर बन्ने निश्चित छ । सटर र कोठा छोड्नेको संख्या थप बढ्छ ।
तिहारमा घर गएका कतिपय काठमाडौं फर्किनेवाला छैनन् । किन कि यहाँ बस्नै नसकिने अवस्था बनेको छ । सरकारले अझैपनि ‘एक्सन’ नलिने हो भने देश झन् नाजुक बन्छ । अहिले बजारमा पैसा छैन् । राष्ट्र बैंकले बजारमा पैसा पठाएको छ । तर, त्यो पैसा व्यक्तिहरुले आफ्नो घरमा लुकाएका छन् ।
सरकारले व्यक्तिहरुले लुकाएको पैसा बजारमा ल्याउन आवश्यक देखिएको छ । पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगायो भने मात्र पैसा बजारमा आउँछ । केही नगर्ने र गफ मात्रै ठोकिरहने हो भने बजार झन् गम्भीर मोडमा जान सक्छ भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्नुपर्छ ।
अहिलेको बजारको अवस्थाले अर्थतन्त्र संकटमा छ भन्ने प्रमाणित गरेको छ । तर, सरकार अन्धो र बहिरो भएको छ । न सर्वसाधारणको कुरा सुन्छ न सञ्चारकर्मीको । गाउँबाट फूल बेच्न आएकाले पनि देशमा सरकार छैन् भन्ने कुरा महशुस गरेका छन् । सर्वसाधारण समस्याले थलिएका छन् ।
आर्थिक मन्दीले किसानलाई समेत मर्कामा पार्यो । दुःख गरेर उब्जाएको फूल नबिक्दा किसानहरुलाई तिहार मान्ने खर्च नै छैन् । फूल बेचेर अरु सामान किनेर घर लग्छौं भन्नेहरु अहिले निराश बनेका छन् । उनीहरुलाई सामान कसरी लैजाने भन्ने पिरलो भएको छ । आर्थिक मन्दीले सबैलाई डुबायो ।
आँखाभरी आँशु पार्दै विदेश पलायन भइरहेका छन् । सरकार रेमिट्यान्सको धाग देखाएर बसेको छ, तर गाउँ र शहर खाली भएको सरकारले देख्दैन् । मुलुक नै खाली बनाएर आएको रेमिट्यान्स के काम ? देश विकास गर्नुपर्ने युवाहरु सबै खाडीमा छन् । जनता बेचेर सरकारले गर्न खोजेकोचाँहि के ?
भेडाबाख्राझैं जनता बेचेर राज्य सञ्चालकहरुले मोजमस्ती गरिरहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्सबाट तलबभत्ता खाइरहेका छन् । नेपाली खाडीमा, यहाँ कार्यकर्ता छन् । अनि देश कसरी उभो लाग्छ ? केही गरौं, नेपालमै बसौं भनेकाहरु पनि विदेश नै पस्नुपर्ने बाध्यता जाइलागेको छ ।
विडम्बना, यस्तो हुँदासम्म सरकारलाई घच्घचाउने कोही भएन् । सरकारी खर्च धान्ने आयस्रते सरकारसँग छैन् । जनता बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । तैपनि देशका प्रतिनिधिहरु सब ठीकठाक छ भनेर बस्नु कतिसम्म लज्जास्पद विषय हो ।