शीर्षकहरू

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मङसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छ । 

बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि  बैंकले मंसिर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।