शीर्षकहरू

आईएचए उपाध्यक्ष निर्वाचित पोखरेललाई इप्पानको बधाई

आईएचए उपाध्यक्ष निर्वाचित पोखरेललाई इप्पानको बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बधाई दिएको छ । संघका सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम आयोजना गरी सम्मानपत्रसहित बधाई तथा शुभकामना दिएको हो ।

इप्पान अध्यक्ष गणेश कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउन पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वास व्यक्त गरे । आईएचएमा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र यस क्षेत्रको छाता संगठन इप्पानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन पोखरेलले महत्वपूर्ण भूमिका खेल्ने इप्पानको अपेक्षा रहेको उनले सुनाए ।

उपाध्यक्ष पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागि समेत प्रयोग गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताए । उनले इप्पान र आईएचको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्ने समेत प्रतिवद्धता जनाए ।

आईएचएको साधारणसभामा नेपालको जलविद्युत लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सही समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरू निकै उत्साहित भएको पनि पोखरेलले जानकारी दिए । उनले सन्‌ २०२५ को साधारणसभा युरोपमा हुने र त्यतिबेला नेपालबाट थप व्यक्तिहरू बोर्डमा जानेगरी तयारी गर्न इप्पान पदाधिकारीहरूलाई आग्रह गरे । सन्‌ २०२७ मा हुने साधारणसभा नेपालमा गर्नको लागि अहिलेदेखि नै लागिपर्ने उनको भनाइ छ ।

नेपाल लगानीका लागि राम्रो छ भनेर मात्र नपुग्ने र साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ ।

आईएचएमा जलविद्युत उत्पादनमा सक्रिए विश्वका १२० देशका जलविद्युत प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरू सदस्य रहन्छन् ।

आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरू मात्र सदस्य रहेका छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तान लगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।