काठमाडौं । चालू आर्थिक वर्षको बितेका तीन महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र थप सुधारात्मक देखिएको छ । केन्द्रीय बैंकका अनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिती १२ अर्ब ३३ करोड अमेरिकी डलर पुगेको छ ।
असार मसान्तको तुलनामा यो सञ्चिती ५.३ प्रतिशतले बढी हो । गत असार मसान्तमा नेपालमा ११ अर्ब ७१ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिती थियो ।
‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा तथ्यांक अनुसार ३ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति ५.३ प्रतिशतले बढेको जानकारी दिएको हो ।
विदेशी मुद्रा सञ्चिती बढ्नुमा रेमिट्यान्स आप्रवाह वृद्धि र आयात कटौती (सुस्तता) भएको केन्द्रीय बैंकले जनाएको छ । साथै पछिल्ला महिनामा रेकर्डस्तरमा रेमिट्यान्स भित्रँदा पनि विनिमय सञ्चिती बढेको हो ।
यो अवधिमा विदेशी मुद्रा भित्रिने क्रम बढ्दा शोधानान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।