शीर्षकहरू

रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो

रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले बढ्यो

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको देशको आर्थिक स्थितीको तथ्यांकमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भएको देखिएको हो । 

यस अवधिमा ३६५ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।