शीर्षकहरू

यो वर्ष ७.५ प्रतिशत महँगो दशैं मनाए नेपालीले

यो वर्ष ७.५ प्रतिशत महँगो दशैं मनाए नेपालीले

काठमाडौं । नेपालीहरूले यो वर्ष ७.५ प्रतिशत महँगो दशैं मनाएका छन्‌ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय  स्थिति’ प्रतिवेदनका अनुसार असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ७.५० प्रतिशत थियो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । असोजमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८१ प्रतिशत रहेको थियो ।

यो वर्षको दशैं पर्व असोज २८ गतेदेखि शुरु भएको थियो । उपभोग्य सामान खपत कात्तिकमै भए पनि आम नागरिकले अधिकांश किनमेल असोजमै गरिसकेका थिए ।

केन्द्रीय बैंकका अनुसार असोजमा मरमसलाको मूल्य ३७.६३ प्रतिशतसम्म बढेको थियो भने बजारमा किन्दा पनि नभेटिएको चिनीको मूल्य १८.२२ प्रतिशतसम्म महँगिएको थियो ।

यसैगरी, चाडबाडमा अत्यधिक खपत हुने फलफूलको मूल्यमा १४.०२ र दुग्ध पदार्थमा ११.९२ मूल्यवृद्धि भएको थियो ।