शीर्षकहरू

भ्रष्ट प्रधानाध्यापकलाई पेन्सन दिलाउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्ट प्रधानाध्यापकलाई पेन्सन दिलाउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भ्रष्टाचारी प्रमाणित भएका प्रधानाध्यापकको फाइल गायब पारी निजलाई निवृत्तिभरण (पेन्सन) दिलाउन भूमिका खेलका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा आज (शुक्रबार) भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

बारा जिल्लास्थित श्री राम प्राथमिक विद्यालय, भर्वलिया, बरैनियाका तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका पूर्व शिक्षक योगेन्द्रप्रसाद यादवलाई २०७३ वैशाख १६ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । भ्रष्टाचारी ठहरिएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

तर, यादवले भ्रष्टाचारी ठहर गरिएको फाइल नै गायब बनाई राजीनामा दिएका थिए । त्यसपछि उनले पेन्सन बुझ्न थालेका थिए । यादवको सो चलखेलविरुद्ध आयोगमा उजुरी निवेदन परेको थियो ।

सो उजुरीबारे अनुसन्धान हुँदा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक यादवले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भई स्वतः निलम्बन परेयता १६ लाख ९२ हजार २६९ रुपैयाँ २५ पैसा बराबर गैरकानुनी लाभ र सरकारी सम्पत्ति हानिनोक्सानी गरे  पुर्‍याएको अख्तियारले जनाएको छ । साथै निजले प्रतिवादी चेथारु प्रसाद कुर्मीसमेतसँग मिलेमतो गरी हाजिरी किताव, बैठक पुस्तिका, तलवी भरपाई लगायत सरकारी कागजात लुकाउने नष्ट गर्ने समेतको कार्य गरेको अख्तियारले जानकारी दिएको छ ।

निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा १७ बमोजिम कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना तथा सोही ऐनको दफा १७ ले निर्देशित गरेअनुसार सोही ऐनको दफा ३(१)को (च) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम निजबाट असूल उपर हुनसमेत मागदाबी लिइएको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साविक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाइ, बाराका विद्यालय निरीक्षक बृज किशोर यादव, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रौवाहीका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव, सोही विद्यालयका अर्का प्रधानाध्यापक चेथारु प्रसाद कुर्मी, साविक जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, साविक क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाका तत्कालीन का.मु. निर्देशक दिनेश कुमार श्रेष्ठ र शाखा अधिकृत बेद प्रसाद पौडेलले प्रतिवादी योगेन्द्रप्रसाद यादव विशेष अदालत, काठमाडौंबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको अवस्थाको जानकारी हुँदाहुँदै निजलाई शिक्षक पदबाट बर्खास्त गर्ने सम्बन्धमा कुनै कारवाही अगाडि नबढाई निजलाई लाभ र सरकारी  हानिनोक्सानी गर्न सहयोग मद्दत पुर्‍याएको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरेको हो ।