शीर्षकहरू

सुदूरपश्चिम : बेचबिखन जोखिममा परेका एक हजारभन्दा बढीको उद्धार

सुदूरपश्चिम : बेचबिखन जोखिममा परेका एक हजारभन्दा बढीको उद्धार

सुदूरपश्चिम । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनःस्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।

धनगढीमा मङ्गलवार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा भारतसहित अन्य मुलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो ।

तीमध्ये कतिपयलाई विदेशबाट र अन्य कतिपयलाई नेपाल-भारत सीमा नाकाबाट उद्धार गरिएको पुनःस्थापना गृहका क्षेत्रीय संयोजक संजित सिंहले बताए ।

‘निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाईफकाई भारतसहित विभिन्न मुलुकमा पुर्‍याउने घटना भइरहेका छन्’, उनले भने, ‘बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।’ विभिन्न प्रलोभन दिएर ललाईफकाई निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको उनले जानकारी दिए ।

सो अवधिमा प्रहरीको रोहवरमा एक हजार ४४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६हजार ९८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको बताइएको थियो । 

उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरू देखिन थालेका छन् ।

इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौति थपिएको संयोजक सिंहले बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

 पुनःस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले आगामी दिनमा स्थानीय तहसँग पनि हातेमालो गरी मानब बेचबिखन विरुद्धको अभियानलाई सक्रिय बनाइने बताए ।

वि.सं. २०५०देखि काम गर्दै आएको सो संस्थाले विगतमा सिन्धुपलाञ्चोक, रसुवा, मकवानपुर ,चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा मानव बेचबिखन तथा ओसार पसार रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै सीमामा निगरानी, पैरवी, तथा जनचेतनामूलक कार्य गर्दै आएको छ ।