शीर्षकहरू

युक्रेनलाई सघाउँदै र रूसमाथि थप प्रतिबन्ध लगाउने जी-७ बैठकको निर्णय

युक्रेनलाई सघाउँदै र रूसमाथि थप प्रतिबन्ध लगाउने जी-७ बैठकको निर्णय

एजेन्सी । युक्रेन युद्धमा जी–७ किएभलाई ‘बलियो समर्थन’ जारी राख्ने र रूसमाथि ‘गम्भीर प्रतिबन्ध’ लगाउने आफ्नो संकल्पमा ‘एकताबद्ध’ रहेको जापानले बैठकपछि बुधबार बताएको छ । ‘मध्यपूर्वमा तनाव बढिरहेको भए पनि युक्रेनलाई समर्थन गर्ने हाम्रो दृढ प्रतिबद्धता कहिल्यै डगमगाउने छैन भन्ने स्पष्ट सन्देश अन्तर्राष्ट्रिय समुदायलाई पठाउनका लागि जी–७ एकताबद्ध हुनु महत्त्वपूर्ण छ’, जापानी विदेशमन्त्री कामिकावाले भने ।

युक्रेन युद्ध आफ्नो २०औँ महिनामा पुगेको छ र युक्रेनलाई जवाफी हमलाबाट अग्रता बनाउन संघर्ष गर्नुपरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संघर्षबाट थकान हटाउने कोसिसमा नियमितरूपमा पश्चिमी नेताहरूसँग भेटघाट गरेका छन्‌ ।

बुधबार जी–७ का विदेशमन्त्रीहरूले इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गरेका छन्‌ । उनीहरूले रूससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गरेका छन्‌ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो ।

आफ्नो पछिल्लो व्यस्त मध्यपूर्वको भ्रमणबाट बैठकमा पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले मंगलबार जी–७ सँग गाजा संघर्षका बारेमा ‘एउटै स्पष्ट आवाज’ मा बोल्न आग्रह गरे । जापानी विदेशमन्त्री योको कामिवाकाले मंगलबार राति पर्याप्त र निरन्तर मानवीय सहायताको पूर्वशर्तका रूपमा जी–७ का विदेशमन्त्रीहरूलाई सम्बन्धित मुलुकहरूबाट मानवीय विराम गर्न र मानवीय पहुँच सुनिश्चित गर्नका लागि आह्वान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

एक कूटनीतिक स्रोतले गाजामा मानवीय आपत्काललाई ध्यानमा राख्दै प्यालेस्टिनी नागरिकका लागि मानवीय हेरचाह तुरुन्तै विस्तार गर्न आवश्यक छ भन्ने विषयमा मन्त्रीहरूबीच व्यापक एकता थियो भनेको छ । स्रोतका अनुसार छलफलमा मानवीय विरामका बारेमा ‘रचनात्मक आदानप्रदान’ भएको थियो भने गाजाको भविष्य र संघर्षलाई बढ्नबाट कसरी रोक्ने भन्नेबारे जी–७ र यस क्षेत्रका अन्य मुलुकहरूबीच छलफलको आवश्यकता महसुस गरिएको थियो ।