शीर्षकहरू

कुमाले समुदायमा बढेको व्यस्तता, पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)

कुमाले समुदायमा बढेको व्यस्तता, पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायको व्यस्तता बढेको छ । उनीहरूलाई अहिले पाला बनाउनेदेखि बिक्री गर्नसम्म भ्याइनभ्याई छ ।   

पछिल्लो समय विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोका पालामा दियो बाल्नेहरु पनि उत्तिकै भेटिन्छन् । विशेषगरि तिहारमा पालाको माग धेरै हुने भएकोले कुमाले समुदाय अन्य माटोका भाँडाकुँडा बनाउने छाडेर पाला बनाउनमै व्यस्त भेटिन्छन् । 

पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ । मेसिनले तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ । यसरी बनाएको पालालाई घाममा सुकाइन्छ । सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्णरुपमा तयार हुन्छ र मागअनुसार बजारमा आपूर्ति गरिन्छ । 

आजभोलि भक्तपुरका पोटरी स्क्वायर बाहेक अन्य ठाउँमा माटोका भाँडा बनाउने पेसामा संलग्न कुमालेहरू पाला बनाउने कार्यमा तल्लीन छन् । 

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाका दिन दीपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ ।

भक्तपुरमा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ ।