शीर्षकहरू

विद्युतीय सवारीले ‘बिग फ्लप’ भोग्ने अर्थशास्त्रीको दाबी, ठूला कार निर्माताले बदले योजना

विद्युतीय सवारीले ‘बिग फ्लप’ भोग्ने अर्थशास्त्रीको दाबी, ठूला कार निर्माताले बदले योजना

अटोमोबाइलको क्षेत्रमा विद्युतीय सवारी (इभी)ले अब बजारमा एकछत्र राज गर्ने दिन आउँदैछ भन्ने चर्चा व्यापार रहेको बेला त्यो सम्भावना नकार्दै विश्लेषण र टिप्पणीहरू हुन थालेका छन् । कतिपय ठूला कार उत्पादकले अब निरपेक्ष रूपमा विद्युतीय सवारी उत्पादनमा लाग्ने भन्ने यस अघिको आफ्नो योजनामाथि पुनर्विचारगर्न थालेपछि त्यस्तो विश्लेषणले थप मान्यता प्राप्त गरेको हो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उनको आर्थिक सल्लाहकारको रुपमा काम गरेका अर्थशास्त्री स्टिभ मोरले त अरूभन्दा एक कदम अघि बढेर इभी अब अटो मार्केटको अर्को ‘बिग फ्लप’ नै सिद्ध हुने बताएका छन् । सन् १९५० को दशकमा विश्व प्रसिद्ध कार उत्पादक कम्पनी फोर्डका संस्थापक हेनरी फोर्डका छोरा एडसेल फोर्डको नाममा ब्रान्डीङ गरिएको सो कार बजारमा आउनु पूर्व यति चर्चा भयो कि सो कम्पनीले त्यो बेला ५ लाख थान कार निर्माण गरेर मात्र त्यसलाई लन्च गर्‍यो ।

तर, जम्मा १० हजार वटा जति मात्र बिक्री भए । अन्ततः फोर्डको एडसेल अटोको इतिहासमा सर्वाधिक फ्लप मोडेल बन्न पुग्यो । अर्थशास्त्री मोरले सो इतिहास सम्झँदै फक्स न्युजसँग त्यसैगरी इभीको व्यापारमा ‘बिग फ्लप’ सहित इतिहास दोहोरिने दाबी गरेका हुन् ।

उल्लेखनीय त यो छ कि मोरको यस्तो टिप्पणी त्यो बेला आएको छ जुन बेला फोर्ड, जनरल मोटर्स र टोयोटा जस्ता विश्वका ठूला कार निर्माता कम्पनीहरूले विद्युतीय सवारीमा देखिएको मूल्यको प्रतिस्पर्धा र आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण नाफामा ठूलो गिरावट आएको बताइरहेका छन् । ती कम्पनीहरूले मुनाफाको आधारमा आफ्नो इभीमा आक्रामक ढगले अघि बढ्ने आफ्नो पुरानो योजनालाई पुनर्विचार गरिरहेको जनाएका छन् ।

फोर्डले आफ्नो मुनाफामा अघिल्लो त्रैमासमा १.०८ अर्ब डलरको गिरावट आएकोमा पछिल्लो साता त्यो बढेर १.३३ अर्ब डलर पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । सो कम्पनीले आफ्नो मुस्ताङ माच-इ को उत्पादनमा भारी कटौती गरेको छ भने इभीमा लगानी गर्ने भनी छुट्याएको १२ अर्ब डलर रकम कटौती गरेको छ । त्यस बाहेक नयाँ ब्याट्री प्लान्टको निर्माण योजनालाई पनि स्थगित गरेको छ ।

उता जनरल मोटर्सको पनि अवस्था उस्तै छ । उसले यसअघिको सन् २०२४ को मध्यसम्ममा ४ लाख इभी उत्पादन गर्ने योजना बनेकोमा हाललाई त्यो त्यागेको जनाएको छ । मोरले हाल फोर्डले प्रति युनिट ४० देखी ६० हजार डलरका दरले इभीमा नोक्सानी व्यहोरी रहेको दाबी गरेका छन् ।

उता अमेरिकी सरकारले हरेक इभीको खरिदमा क्रेतालाई ७ हजार ५ सय डलरको अनुदान समेत दिएको छ तर इभीले ग्राहकहरू भने पाइरहेको नै छैन । सरकारले ब्याट्री उत्पादक देखी गाडी खरिदकर्ता सम्मलाई अनुदान दिँदा समेत आम नागरिकहरूले इभीमा रुचि नरहेको बताउने गरेको उनको भनाई छ ।

उपभोक्ताको रोजाइमा इभी कार नपरेपछि उनले कार उत्पादकहरूलाई बरु ग्याँस र ब्याट्री दुबैबाट चल्ने हाइब्रिड कार निर्माणमा नै ध्यान  दिन सल्लाह समेत दिएका छन् । तर, उत्पादकहरू भने अन्योलमा छन् किनकि संसारभरका सरकारहरूले विद्युतीय सवारी (इभी) मा नै जान जोड दिइरहेका छन् ।