शीर्षकहरू

दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउछन्ः उपप्रधानमन्त्री

दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउछन्ः उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण सुरू गरिने जानकारी दिएका हुन् । 

“दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौँ, थप केही आउनेक्रम जारी छ”, उनले भने, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।” उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए । 

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए । “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उनले भने । 

उपप्रमुख सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।