शीर्षकहरू

जाजरकोट भूकम्पीडितलाई पर्वतारोहण संघको ३१ लाख ११ हजार सहयोग

जाजरकोट भूकम्पीडितलाई पर्वतारोहण संघको ३१ लाख ११ हजार सहयोग

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले जाजरकोट भूकम्पपीडित सहयोगार्थ ३१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बोर्ड बैठक डाकेर एनएमएले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत प्रदान गर्न आर्थिक सहयोगको निर्णय लिएको अध्यक्ष नीमा नुरु शेर्पाले जानकारी दिए । उनका अनुसार सो राहत रकम संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्लामा गरी हालसम्म कम्तिमा १५७ जनाको ज्यान गएको छ । ३५७ घाइतको उद्दार गरिएको छ । भूकम्पप्रभावित क्षेत्रमै हालसम्म २५० भन्दा बढी परकम्प गइसकेको छ ।

कमजोर परम्परागत संरचना र तारन्तारको परकम्पका कारण प्रभावित क्षेत्रमा संरचनाको क्षति बढिरहेको छ । कम्तिमा १२ जिल्लामा घरगोठ र आवासीय संरचनामा क्षति पुगेको खबर छ ।

सरकारले भूकम्पीडितलाई राहत दिन र पुनर्निर्माण गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहायता जम्मा गर्न सार्वजनिक आह्वान गरेको छ ।