शीर्षकहरू

चीनसँग सम्बन्ध सुधार्दै अष्ट्रेलिया, सात वर्षपछि कार्यकारी स्तरमा भ्रमण

चीनसँग सम्बन्ध सुधार्दै अष्ट्रेलिया, सात वर्षपछि कार्यकारी स्तरमा भ्रमण

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार चीनसँग ‘रचनात्मक काम गर्ने’ वाचा गरेका छन्‌ ।

आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्च प्रोफाइलको भ्रमणको पहिलो दिन साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआइआइई) को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन्‌ । 

‘मुलुकहरूबीचको रचनात्मक आर्थिक संलग्नताले सम्बन्ध निर्माण गर्न सहयोग गर्छ, यसैले मैले नेतृत्व गरेको सरकारले चीनसँग रचनात्मकरूपमा काम गरिरहनेछ’, अल्बानिजले आफ्नो सम्बोधनमा भने । 

उनले साङ्घाइ र बेइजिङमा चार दिन बिताउनेछन्‌ । दुवै मुलुकबीचको अर्बौँ डलरको व्यापारलाई असर गर्ने गरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयास भइरहेको बेला कुनै पनि अस्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो । 

अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावविरुद्ध दबाब दिँदै चीनसँग थप सौहार्दपूर्ण सम्बन्ध खोजेको छ । आइतबार प्रधानमन्त्री अल्बानिजले भने, ‘एसिया प्रशान्त क्षेत्रको विकास यस्तो लेन्स हो जसको माध्यमबाट हामी भविष्यका बारेमा धेरै देख्छौँ, चीनसँग अस्ट्रेलियाको सम्बन्ध यी सबैमा एउटा महत्वपूर्ण हिस्सा हो ।’

उनले बेइजिङ र क्यानबेराबीच ‘परिक्व सम्बन्ध’ को प्रशंसा गर्दै भने, ‘यो हाम्रा अर्थतन्त्रहरूको पूरक प्रकृतिसँग उत्साहित छ ।’

अल्बानिजले चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने र ‘द्विपक्षीय मुद्दाका विषयका साथै साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्ने’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । ‘एउटा स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्ध दुवै मुलुक र नागरिकको आधारभूत हितअनुरूप छ’, मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ।