शीर्षकहरू

भूकम्पबाट प्रभावित परिवारलाई चेम्बरले खाद्यान्न सहयोग गर्ने

भूकम्पबाट प्रभावित परिवारलाई चेम्बरले खाद्यान्न सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताएका हुन् । 

‘चेम्बरले आवश्यक सम्पूर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्वारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स वितरण गर्ने छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी संयन्त्रसँग समन्वय गरेर नै सहयोग सामाग्री वितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदना प्रकट गरेको छ । 

चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनर्स्थापनाका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।