शीर्षकहरू

नेपालले ओमानलाई दियो १८५ रन लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रन लक्ष्य

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानलाई १८५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।

समूहको चरणको खेलमा यसअघि झिनो रनअन्तरले पराजित नेपालले आज भइरहेको फाइनल खेलमा बदला लिनेगरी ओमानलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।

नेपालका लागि गुल्सन झाले २५ बलमा सर्वाधिक ५४ रन जोडे । कप्तान रोहित पौडेलले २७ रनमा अविजित ५२ रन बनाउँदा कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए । करन केसीले ६ बलमा अविजित २० रन, सन्दीप जोराले १०, आशिफ शेखले ६ र विवेक यादवले १ रन जोडे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इलियासले २ र जिसन मक्सुदले १ विकेट लिए । दोस्रो इनिङमा ओमनले नेपालविरुद्ध ब्याटिङ गर्नेछ ।

नेपालमा भएको प्रतियोगिताबाट घरेलु टोली र ओमानले सन् २०२४ मा अमेरिका तथा वेस्ट इण्डिजमा हुने टी-२० विश्वकप प्रतियोगितामा आफ्नो स्थान बनाइसकेका छन्‌ ।