शीर्षकहरू

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट–भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् । 

प्रधानमन्त्री दाहालले भूकम्प गएलगत्तै तीनै तहका सरकार र निकायबाट गरिएको पहल सकारात्मक रहेको उल्लेख गरे । उनले विस २०७२ को भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन, नियम र संरचनालाई पुनःसंरचना गरी शीघ्र रुपमा काम गर्नका लागि तयारी गरिएको बताए । 

“भूकम्पपछि सबै दल, सङ्घीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पूरा गरेका छौँ । अब राहत र पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने । 

उनले भूकम्पपीडितहरुलाई न्यानो कपडाको व्यवस्थापन गर्न र उपचार प्रभावकारी बनाउन निर्देशन दिए । नेपाल प्राकृतिक विपदको जोखिममा रहेको मुलुक भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जति पहल गर्नुपर्ने हो र जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो त्यो नपुगेको बताए । “अबको तीन दिन राहतका निम्ति अधिकतम पहल गरौँ । पुनःस्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ । विद्यमान ऐन, विधि र संरचनाले पुनःनिर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ”, उनले भने । 
    
विसं २०७२ को भूकम्पपछि पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उहाँले भूगोलको अध्ययन गरी कुन भूगोल भूकम्पको जोखिममा छ भन्ने विषय त्यसको अध्ययन आवश्यक भएको बताए । “यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतर्फ सोच्नुपर्छ । विपदका लागि आवश्यक सामग्री सबै जिल्लामा राख्ने गरी काम गरौँ । अहिलेदेखि नै ती सामग्री ‘स्टोर’ गरेर राखौँ”, प्रधानमन्त्री दाहालले भने, “यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं ।”