शीर्षकहरू

गण्डकी प्रदेशले भूकम्प पीडितकालागि एक करोड दिने

गण्डकी प्रदेशले भूकम्प पीडितकालागि एक करोड दिने

गण्डकी । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । शुक्रवार राती भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विशेषज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराई रहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

भूकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।