शीर्षकहरू

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख  सिंहको निधन

काठमाडौं । भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए । ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

 जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार जाजरकोटको कुशे गाउँपालिका(७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको छ । जाजरकोटकै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिए।

त्यस्तै, रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।