शीर्षकहरू

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौंमा सुरु

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौंमा सुरु

काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ पहिलो पटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीको सहभागिता रहेको छ ।
     
सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’(बिटुबी) कार्यक्रम आयोजना गरिएको छ । बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवद्र्धनका कार्यक्रम तय भएको बताइएको छ । 

नेपाललाई वेडिङ गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए । “धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहजरुपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो”, उनले भने ।
     
भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरुका सामान सहजरुपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने डा रेग्मीको विश्वास छ । 
    
भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलो पटक नेपाललाई गन्तव्यका रुपमा रोजिएको बताए । उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।    
     
बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । 

सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागिता छ । त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन् ।
     
कार्यक्रममा भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेस अम्बानीको विवाह गराउने कम्पनी पनि सहभागी रहेको बोर्डले जनाएको छ ।
     
बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा विवाह गराउन सकिन्छ । नेपालमा विवाहपछि तारे होटलमा पार्टी दिने प्रचलन छ तर भारतमा विवाह नै विदेशमा गएर गर्ने चलन छ । कतिपय सम्भ्रान्त परिवारका विहेहरु वर्षमा करिब एक हजारको थाइल्याण्डमा तथा नेपालमा वार्षिक एक सय हाराहारीमा यस्ता विवाह हुने गरेका छन् । यस्ता विवाहमा मध्यम परिवारले रु एकदेखि १० करोड खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्याङ्क भेटिन्छ ।

वेडिङ समिट ‘माइस टुरिजम्’को महत्वपूर्ण अङ्ग भएकाले आगामी दिनमा नेपालमा ठूला अन्तर्राष्ट्रिय ‘इभेन्ट’मार्फत गन्तव्य प्रवद्र्धन गर्ने बोर्डको योजना रहेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए ।

यस किसिमको कार्यक्रमले विवाह पर्यटनकारुपमा पनि नेपाल गन्तव्यको प्रचारप्रसारका साथै आर्थिकरुपमा समेत नेपाललाई फाइदा पुग्ने आयोजकको विश्वास छ । आगामी दिनमा यो सम्मेलनलाई वार्षिकरुपमा थप व्यवस्थित ढङ्गले आयोजना गर्ने बोर्डको योजना छ ।