शीर्षकहरू

पुष्प मेलामा पनि आर्थिक मन्दीको प्रभाव, बिकेनन् फूल, व्यवसायी निराश

पुष्प मेलामा पनि आर्थिक मन्दीको प्रभाव, बिकेनन् फूल, व्यवसायी निराश

इलामको सूर्योदय नगरपालिका १ की लासाङ तामाङ नर्सरी व्यवसाय (फलफूलको बिरुवा उत्पादन गरेर बिक्री गर्ने)मा लागेको तीन दशक भइसकेको छ । वि.सं २०५३ सालदेखि उनले सोही ठाउँमा नमो बुद्ध फूल नर्सरी सञ्चालन गरिरहेको छिन् । 

नर्सरी व्यवसाय गरेको लामो समयपछि उनले यस पटक काठमाडौंको भृकुटीमण्डपमा भइरहेको पुष्प मेलामा सहभागी हुने सोच बनाइन् । त्यही अनुसारको तयारी सहित उनी नर्सरी व्यवसायी संघले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’मा सहभागी भइन् । एक्पोमा सहभागी हुन आउनु पहिले उनी एकदमै उत्साहित थिइन् । काठमाडौंमा व्यापारको अनुभव नभएकी उनले मेलामा धेरै व्यापार होला भन्ने ठानेकी थिइन् । 

तर, उनले सोचेजस्तो मेलामा व्यापार भएन । ‘फूलको व्यापार सोचेजस्तो छैन । हामीले ल्याएका विरुवाहरु त्यस्तो धेरै गएको नै छैन । मेलाले नर्सरी व्यवसायीलाई राहत पुर्‍याएको महसुस नै गर्न पाएनौँ’, उनले खिन्नता व्यक्त गरिन् । 

लासाङ तामाङ

व्यापार कम हुनुमा दुई ठाउँमा एकै समय मेला लागेर पनि हुनसक्ने उनको अनुमान छ । तामाङले भनेजस्तै यस पटक एकै समय उपत्यकाका दुई ठाउँमा फूलको मेला लागेको छ, काठमाडौंको भृकुटीमण्डप र ललितपुरको जाउलाखेलमा।   

व्यापार कम भएपनि अन्य नर्सरी व्यापारीहरुसंग चिनजान भएकोमा भने उनी खुसी छिन्। यस्तो चिनजान र सम्बन्धले भविष्यमा सहजता थप्ने उनको विश्वास छ ।  

उनले एक सयदेखि एक हजार रुपैयाँसम्म मूल्य पर्ने फूलहरू बिक्रीमा राखेकी छिन् । तर, सस्तो मुल्यमा मात्रै फूल खरिद गर्न खोज्ने ग्राहकहरू आइरहेको उनले बताइन् । 

नर्सरी व्यवसायीहरूलाई राज्यले विभेद गरेको आरोप लगाउँदै उनले गुनासो गरिन्, ‘राज्यले व्यवसायीहरूलाई सहुलियतमा ऋण दियो भने सहज हुन्छ । ऋणको कुरा मात्रै होइन, पहुँच हुनेहरूले करोडसम्म अनुदान पाएका छन् । नहुनेहरूले केही पाएका नै छैनन् ।’ 

यसअघिका मेलाहरूमा जस्तो यस पटक व्यापार हुन नसकेको बुढानीलकण्ठ चुन्निखेलमा नर्सरी व्यवसाय गर्ने लक्ष्मी श्रेष्ठको पनि अनुभव छ । उनी भन्छिन्, ‘गत वर्षहरूको मेलामा भन्दा व्यापार कम रहेको छ । मन्दी छ भन्छन् । मान्छेहरू आउँछन्, हेर्छन् अनि फोटो खिचेर जान्छन् ।’

उनले नर्सरीमा बेच्ने भाउभन्दा कम गरेर फूलहरू बिक्रीमा राखेकी छिन् । तर पनि खरिद गर्ने ग्राहक छैनन्। उपभोक्ताको क्रय क्षमतामा समेत गिरावट आएको उनको अनुभव छ । ‘पहिले महँगा फूलहरु किन्ने ग्राहकहरू पनि भेटिन्थे । तर, अहिले सस्तोमा किन्न पनि मान्दैनन् । उनीहरूको किन्ने क्षमता घटेर पनि होला’, उनले सुनाइन् ।   

लक्ष्मी श्रेष्ठ

यो मेलाबाट पुष्प व्यवसायीलाई कतिको राहत मिलेको छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘के राहत मिल्नु, स्टल भाडा नै महँगो छ । किन्ने ग्राहक नै छैनन् ।’ 

बौद्ध तीनचुली आरुबारीमा लामो समयदेखि विद्या नर्सरी सञ्चालन गर्दै आएका आकाश सापकोटाले पनि मेलाबाट खासै व्यापार गर्न सकेका छैनन् । ‘यो पटक मेलामा फूलको व्यापार कम भयो । पहिले राम्रो हुन्थ्यो । व्यापार कम भए पनि प्रचार प्रसार भएको छ, त्यसमै खुसी छौँ’, चित्त बुझाउँदै उनले भने । 

मेलामा व्यापार कम भए पनि अन्य समयमा पुष्प व्यवसाय गरेर एउटा परिवार धान्न सकिने उनको अनुभव छ । उनी भन्छन्, ‘नेपालमा पुष्प व्यवसाय राम्रो छ । एउटा परिवारलाई पाल्न यो व्यवसायले साथ दिन्छ । हाम्रो परिवारले यो नर्सरी चलाएको ३० वर्ष जति भयो । अहिलेसम्म राम्रै भइरहेको छ ।’  

आकाश सापकोटा

नर्सरी व्यवसायीहरूले सरकारबाट अनुदान भने पाउन नसकेको उनको पनि गुनासो छ । सापकोटा भन्छन्, ‘सरकारले अनुदान दिन्छु भनेर भन्छ तर पछि दिँदैन । कति पटक ठूलो नोक्सान हुँदा पनि अहिलेसम्म हामीले राहत पाउन सकेका छैनौँ । नेपालमै केही गरिरहेका युवाहरूलाई सरकारले केही गरेको नै छैन ।’ 

आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आएको नर्सरी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर बताउँछन् । उनी भन्छन्, ‘अहिले आर्थिक मन्दी पनि छ । हाम्रो व्यापारको समय अहिले अनुकूल नभएको पनि हो । मेलाको प्रचारप्रसार गर्न समेत हामीलाई ढिला भयो ।’ 

आयातित फूलका कारण नेपाली व्यवसायीहरू समस्यामा परेकोसमेत उनले गुनासो गरे । उनले भने,’‘फूल आयातका कारण हाम्रो व्यवसायी मार्कामा परेका छन् । केही विरुवाहरु यहाँ उत्पादन नहुने भएकोले आयात गर्नै पर्ने बाध्यता पनि छ । त्यो भने कम परिणामको हो । त्यसबाहेक हामीले नेपालमा नै उत्पादन भएका फूलहरू बजारमा ल्याउन लागिपरेका छौँ ।’ 

रामजी कुँवर

सरकारले खाली जग्गा नर्सरी व्यवसायीलाई लिजमा दिनुपर्ने उनको माग छ। उनले भने, ‘नर्सरी व्यवसायीलाई जग्गा अभाव रहेको छ । त्यतिका धेरै सरकारी जग्गाहरू फोहोर फालेर राखिएको छ । ती जग्गा नर्सरी व्यवसायीहरूलाई दिने हो भने सरकारलाई आम्दानी पनि भयो । नसरी व्यवसायीहरू पनि बढ्ने भयो ।’