शीर्षकहरू

‘अर्थतन्त्र चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा तत्काल सहजीकरण गर्नुपर्छ’

‘अर्थतन्त्र चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा तत्काल सहजीकरण गर्नुपर्छ’
ई.ध्रुब थापा,अध्यक्ष सिमेन्ट उत्पादक संघका एवम् कार्यकारी निर्देशक, कसमस सिमेन्ट इन्डस्ट्रिज

वि.सं. २०७२ मा गएको विनाशकारी महाभूकम्पपछि पुनर्निर्माण निम्ति नेपालमा सिमेन्ट लगायत निर्माण सामग्रीको अत्यधिक माग भयो । माग विश्लेषण गर्दै उद्योगीहरूले आफ्ना उद्योगको क्षमता बढाउने र नयाँ उद्योग थप्ने क्रम बढ्यो । त्यसैबेला सरकारले सिमेन्ट उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने निर्णय गर्‍यो । सरकार र उद्योगीहरूले स्वदेशी माग पूरा गर्दै विदेशमा निर्यात गर्ने र ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्ने बताउने गरेका थिए । तर, कोरोना महामारी र त्यसपछि निम्तिएको आर्थिक मन्दीका कारण अहिले सिमेन्ट उद्योगहरूले क्षमताको २५ प्रतिशतमात्र उत्पादन गरिरहेको बताइरहेका छन् । निकै उत्साहका साथ लगानी गरेका सिमेन्ट उत्पादकहरू अहिले हतोत्साही देखिएका छन् । नेपालको निर्माण क्षेत्रमा देखिएको सुस्तता र सिमेन्ट उद्योगलाई त्यसले पारेको प्रभाव तथा समस्या समाधानका उपायबारे सिमेन्ट उत्पादक संघका अध्यक्ष एवम् कसमस सिमेन्ट इन्डस्ट्रिजका कार्यकारी निर्देशक ई. ध्रुब थापासँग गरिएको कुराकानीको सम्पादित अंश : 

देशमा ठूलो द्वन्द्व चर्किंदा पनि खासै नघटेको निर्माण सामग्रीको माग अहिले किन घटेको हो ? 

पोस्ट कोभिड र युद्ध लगायत कारणले विश्व अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव नेपालमा पनि परेको छ । आन्तरिक कारणहरू पनि छन् । राज्य र सरकारले समयमै कदम नचाल्दा समस्या भएको छ । उद्योगी/व्यवसायीका संघसंस्थाले सरकारलाई समस्या समाधानका कदम चाल्न आग्रह गरिरहेका छौं । तर, राज्यका सम्बन्धित निकायले समयमै सुन्ने इच्छा देखाइरहेको छैन । यस्तो प्रवृत्तिका कारण अवस्था झन् खराब हुँदैछ ।

राज्यले समयमै कस्ता कदम चाल्नुपर्थ्यो त भन्नुभयो, तर निर्माण उद्योगीहरू आफैं चाहिँ कति अनुशासनमा बसे ?

यो देशमा वेथिति र विसंगती चरम उत्कर्षमा पुगेको छ जस्तो लाग्छ । नियम र कानूनी शासन छैन । अर्थतन्त्रसँगै सामाजिक संरचनाहरू बिग्रिइरहेका छन् । सांस्कृतिक रुपले पनि हामी तल झर्दैछौं । सबैतिर समस्या हुँदा त्यसको प्रभाव राजनीतिमा पनि पर्छ ।

राजनीतिक, आर्थिक र सामाजिक लगायतका क्षेत्रमा परिवर्तन हुन समय लाग्छ । तर, कानूनी शासन नहुँदा सबैभन्दा छिटो असर चाहिँ अर्थतन्त्रमै पर्छ । अर्थतन्त्रको लागि एक वर्षको समय निकै लामो र महत्वपूर्ण हो । त्यसैले अर्थतन्त्र सुधार्न हामीले जतिसक्दो छिटो प्रभावकारी कदम चाल्नुपर्छ । अर्थतन्त्रमा परेको असरबाट जोगिन अनुकूलनका मापदण्डहरू अपनाउनुपर्छ ।

अहिले त राष्ट्र बैंकका नीतिहरू नै त्यस्तै छ । कुनै पनि नीति ल्याउँदा समय उपयुक्त छ कि छैन भन्ने हेर्नुपर्छ । एउटा उदाहरण दिन चाहन्छुः तपाईंले गाई पाल्नुभएको छ । आजसम्म एउटा कम्पाउन्डमा छाड्नुभएको छ, भोलिदेखि चौबीसै घण्टा बाँधेर राख्छु भन्नुभयो भने गाईलाई समस्या पर्छ । 

केही उद्योगी/व्यवसायीले बैंकबाट लिएको कर्जा घरजग्गा खरिद लगायतमा परिचालन गरेको होलान् । तर, उनीहरूले जुवा खेलेका त होइनन् नि !

हिजो शतप्रतिशत चालू पूँजी दिँदा उद्योगीहरूले पनि त्यति नै मात्रामा उधारो दिइरहेका थिए । हामीले ६ महिनासम्मको भाखामा सिमेन्ट उधारो बेचिरहेका थियौं । डिलर र उपभोक्ताले पनि ४/५ महिनाको उधारोमा कारोबार गरिरहेका थिए । व्यवसाय त्यही साइकलमा चलेको थियो । अप्ठेरो समयमा चालू पूँजी एकैपटक २५ प्रतिशतमा झारिदिएपछि बजारबाट पैसा उठेन र कर्जा तिर्न समस्या भयो । सहज समयमा यस्तो निर्णय लिएको भए खासै समस्या आउँदैनथ्यो । बजारमा पैसा छैन, अर्थतन्त्र चलायमान भएको छैन, आर्थिक क्रियाकलाप ठप्प छ । अहिले करिब २५ प्रतिशत सटरहरू बन्द छन् । ३३ प्रतिशत मझौला तथा साना उद्योग व्यवसाय बन्द भइसकेको छ । घरजग्गाको कारोबार बन्द छ । यस्तो अवस्थामा त बजारबाट पैसा नै आउँदैन । 

आधारभूत उपभोक्ताले उधारोमा निर्माण सामग्री लिएर घर बनायो । तर, तयार भएको घर भाडामा लगाउन सकेन । भाडामा नलागेपछि उसले रकम व्यवस्थापन गर्न सकेन । निर्माण सामग्री बिक्रेतालाई भुक्तानी दिन सकेन । बिक्रेताले डिलर र डिलरले उत्पादकलाई तिर्न सकेन । उत्पादकले बैंकलाई कर्जाको साँवाब्याज तिर्न सकेन । श्रृंखलामै असर पर्‍यो । हिजोसम्म शतप्रतिशत रहेको चालू पूँजी कर्जा सुविधा तत्कालै ठूलो मात्रामा झारिदिँदा समस्या त झन् गहिरिन्छ । सामान्य अवस्थामा समय तोकेर गरेको भए समस्या हुँदैनथ्यो ।

सरकारी निकायसँग काम गर्न फलामको च्यूरा चपाएसरह छँदैछ, अहिले त बैंकहरू नै अड्डा अदालतजस्ता भएका छन् । बैंकसँग काम गर्नै गाह्रो भइसक्यो । नियमकानूनमात्रै थप्ने, बाधा व्यवधान उत्पन्न गर्ने हुँदा व्यवसायिक सहजता घट्दै गएको छ । पहिले एकघण्टामा प्रतीतपत्र (एलसी) खोल्न सकिन्थ्यो भने अहिले दुई दिन लाग्छ । कर्जा रिन्यू गर्न महिनौं दिन लाग्ने गरेको छ । त्यसकारण अप्ठेरो सृजना गरेर मात्रै हुँदैन । नियमनकारी निकायले समस्या समाधान गर्नेगरी कदम चाल्नुपर्छ । तर, कहिले आइएमएफको, कहिले विश्व बैंकको निर्देशन आएको भन्दै समस्या बढाउने काम मात्रै भएको छ । देशै सकिने हो भने हामीलाई आइएमएफ र वर्ल्ड बैंक किन चाहियो ? देश र नागरिकको समृद्धिका लागि पो हामीलाई यी दाता चाहिएको हो । अवस्था सुधार्न एक महिनाभित्रै ठोस कदम चालिएन भने समस्या थप चुलिने निश्चित छ ।

तपाईंले तत्कालै आवश्यक कदम चाल्नुपर्ने भन्नुभयो । छोटो समयमै संकट समाधान गर्न कसरी सम्भव हुन्छ ?

अर्थतन्त्र पुनरुत्थान निम्ति तत्काल सुधारका कदम चाल्नुपर्छ भनेको हुँ । सुधारका कदम चालेपछि पनि हामीलाई सहज अवस्थामा फर्कन कम्तिमा दुई वर्ष लाग्नेछ । सुधारका कदम नै नचाल्ने हो भने त झनै समस्या बढ्छ । अहिले हामी टेन्सनमा छौं, डिप्रेसनमा जाँदैछौं । त्यति हुँदा पनि कदम नचाले डीप डिप्रेसनमा जान्छौं र स्वाहा हुन्छ ।

देशमा संविधान आयो । राजनीतिक क्रान्ति सकियो, आर्थिक क्रान्तितिर जाने र देश विकास गर्ने भनियो । हामी झनै उत्साहित भयौं, उद्योग बढायौं ।

म आशावादी मानिस हुँ । आजको दिनमा पनि म देशमै बस्नुपर्छ, बाहिर जानु हुँदैन भन्छु । मेरा सबै छोराछोरी यही देशमा छन् । मैले उनीहरूलाई सानै उमेरदेखि यो देश तिमीहरूले नै बनाउनुपर्छ, यहीँ बसेर काम गर्नुपर्छ भनेँ । तर, अहिले युवाहरू कामको खोजीमा र विद्यार्थीहरू पढ्नका लागि विदेश पलायन भए भन्ने समाचारहरू आइरहेका छन् । अर्थतन्त्रमा सुधारका उपायहरू तुरुन्त अबलम्बन नगर्ने हो भने अबको ६ महिनापछि उद्योगी व्यापारीहरू पनि विदेश पलायन भए, उनीहरूले पनि फ्रि भिसा र फ्रि टिकट खोज्न थाले भन्ने समाचार आउनसक्छ ।

अहिले निर्माण उद्योगहरू कसरी र कति प्रतिशत क्षमता चलिरहेका छन् ?

सिमेन्ट उद्योगहरू त अहिले बढीमा २५ प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । यसो हुँदा लागत नै उठ्दैन । सबै उद्योगी घाटामा छन् । अहिले प्रतिबोरामा ८० रुपैयाँसम्म घाटा खाएर सिमेन्ट बेचिरहेको अवस्था छ ।

सिमेन्टको बजार विश्लेषण गर्दा दुईवटा कुरा हेर्नुपर्छ । २०७२ सालको भूकम्पपछि पुननिर्माणको लहर चल्यो । माग बढ्यो । सरकारले पनि सिमेन्ट र फलाम लगायत उद्योगमा लगानी बढाउन आग्रह गर्‍यो । लगानीकर्ता पनि प्रोत्साहित भएर उद्योग खोले । त्यसबेलै देशमा संविधान आयो । राजनीतिक क्रान्ति सकियो, आर्थिक क्रान्तितिर जाने र देश विकास गर्ने भनियो । हामी झनै उत्साहित भयौं, उद्योग बढायौं । दुई तीन वर्षसम्म काम पनि भयो । तर, त्यसपछि विकास निर्माणका काम अपेक्षाकृत बढेन । त्यस्तो हुँदाहुँदै कोरोना महामारीले हान्यो । दुई वर्ष त पूरै थला पर्‍यो । कोरोनापछि पुनःउत्थान होला भनिएकोमा रुस युक्रेन युद्धको असर परिहाल्यो । आन्तरिक किचलोले पनि असर पार्‍यो । उद्योग खोल्ने क्रम त आकासियो, तर माग बढेन ।

सन् २०१८ मा १० मिलियन टन सिमेन्ट माग थियो । यो भनेको २० करोड बोरा हो । २०२२/२३ मा त आठ मिलियन टनमा झर्‍यो । मागमा १३ प्रतिशतसम्म बढोत्तरी हुन्छ भन्ने हिसाबले उद्योगहरू खोलियो । तर, दुई वर्षभित्रै नेगेटीभ ग्रोथ भएर मागमा आधाभन्दा बढी गिरावट आयो । यो वर्ष त ७ मिलियन टनमात्रै माग हुने अनुमान छ । यही कारणले अहिले उद्योग खोल्ने क्रम नै बन्द भएको छ । २५ मिलियन टन उत्पादन क्षमता हुँदा ८ मिलियन टन उत्पादन छ । माग घटेपछि उत्पादन पनि घटाउनुपर्छ । उद्योगहरू कम्तिमा ५० प्रतिशत क्षमतामा चलेनन् भने घाटामा जान्छन् । त्यसैले अहिले सिमेन्ट उद्योगको अवस्था नाजुक भएको छ । 

देशको आर्थिक क्रियाकलाप चलाउन तीनवटा क्षेत्रले विशेष योगदान दिएको हुन्छ । एउटा कृषि हो । आर्थिक क्रियाकलापमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत छ । पर्यटनको पनि ३० प्रतिशतजति छ । विकास निर्माणसँग सम्बन्धित क्रियाकलापको योगदान ६० प्रतिशतजति छ । ४० प्रतिशत आर्थिक क्रियाकलाप लगाउने निर्माण क्षेत्र शिथिल हुँदा अर्थतन्त्र नै शिथिल भएको छ । निर्माण सामग्रीको ढुवानीमा दशौं हजार ट्रक आश्रित छन् । सिमेन्ट, डन्डी, बालुवा, गिट्टी, इँटा लगायत उत्पादन गर्ने उद्योगको क्षमता ७५ प्रतिशतले खुम्चिएको छ । यसो हुँदा ट्रक व्यवसायमा मात्रै आश्रित परिवारको अवस्था के भएको छ भन्ने बुझ्न सकिन्छ । उत्पादन र निर्माण क्षेत्रमा आश्रित थप लाखौं परिवारको अवस्था पनि सँगसँगै जर्जर बनेको छ । सबैतिर असर परेको छ । सिमेन्ट उद्योगीले मात्रै बजारबाट २५ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी छ ।

अहिले नेपालमा ५० भन्दा बढी सिमेन्ट उद्योग छन् । यसबीच सरकारले विदेशी लगानी पनि खुला गरिदियो । यसले कस्तो प्रभाव पारेको छ ? 

महाभूकम्प गएपछि निर्माण सामग्रीको माग बढ्ने अवस्था आउँदा हामीले नै सरकारलाई भनेका थियौं कि सिमेन्ट बनाउने कच्चापदार्थ नेपालमै छ । हामी आफैं उत्पादन गर्न सक्षम छौं । विकसित देशबाट उच्चतम प्रविधि पनि ल्याएका छौं । त्यसकारण सिमेन्ट उद्योगमा विदेशी लगानी ल्याउनु हुँदैन भनेका थियौं । तर हाम्रो कुरा सुनुवाई भएन र विदेशी लगानी भित्रियो । यसो हुनुमा हाम्रै केही व्यवसायी साथीहरूको पनि भूमिका रह्यो ।

नेपाली सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको भन्दा राम्रो छ ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बाट खुलेको उद्योगलाई एउटा र स्वदेशी लगानीमा स्थापित उद्योगलाई अर्को व्यवहार गर्ने काम हुने गरेको छ । कानून नै फरक छ । तर, उनीहरू आइसके । त्यसैकारण हाम्रो उत्पादन क्षमता बढ्यो । अबका दिनमा चाहिँ सिमेन्ट उद्योगमा वैदेशिक लगानी ल्याउन बन्द गर्न हामीले आग्रह गरिरहेका छौं । फेरि पनि लगानी स्वीकृति दिएको सुनिएको छ ।

केही अघिसम्म विदेशी ठेकेदारहरूले आयोजना बनाउन आवश्यक सिमेन्ट विदेशबाट ल्याउने गर्थे, अहिले कस्तो अवस्था छ ? 

पहिले विकास निर्माणका लागि सिमेन्ट ल्याउँदा भन्सार छुटको व्यवस्था थियो । त्यस्तो छुट सुविधा अहिले हटाइएकाले स्वदेशी सिमेन्ट नै प्रयोग हुने गरेको छ । ९९ प्रतिशत आयोजनामा नेपाली सिमेन्ट नै प्रयोग भइरहेको छ । अरूण तेस्रो, फास्टट्रयाक लगायत ठूला परियोजनाहरूमै नेपाली सिमेन्ट खपत भइरहेको छ । 

सरकारले गत बजेटमा सिमेन्ट निकासीकर्तालाई अनुदान दिने व्यवस्था गर्‍यो । तर, सुविधा उपयोग गर्दै निर्यात गर्न किन सकिएन ? 

यसमा केही प्राविधिक पक्षहरू छन् । हामी भारतीय सिमेन्टसँग अझै प्रतिष्पर्धी क्षमतामा पुगेका छैनौं । हामीले सरकारसँग १२ प्रतिशत इन्सेन्टीभ मागेका थियौं । १२.५ प्रतिशत ट्याक्स इन्सेन्टीभ दिँदा प्रतिष्पर्धी मूल्य कायम हुन्छ र निर्यात गर्न सक्छ भन्यौं । सरकारलाई पनि अप्रत्यक्ष कर आइहाल्थ्यो । हजारौं मानिसले रोजगारी पाउँछन् र विदेशी मुद्रा आर्जन हुन्छ भन्यौं । सरकारले पनि ८ प्रतिशत इन्सेन्टीभ दियो ।

त्यसपछि निकासी शुरु भयो । अहिले निकासी नियमित भइरहेको छ । देशका लागि यो गौरवको कुरा हो । अब थप निकासी गर्न हामी सबैले थप पहल गर्नुपर्छ । अहिले हामीसँग २०० खर्ब रुपैयाँसम्मको सिमेन्ट निकासी गर्नसक्ने क्षमता छ । क्षमताको सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ । नेपाली सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको भन्दा राम्रो पनि छ ।

८ प्रतिशत इन्सेन्टीभ पाउँदा पनि घाटा छ । मूल्यमा प्रतिष्पर्धा गर्न सकेका छैनौं । सरकारले घोषणा गरेपनि रकम दिएको छैन, कहिले पाउने टुंगो पनि छैन ।