शीर्षकहरू

असोजमा घरजग्गा कारोबार बढ्यो

असोजमा घरजग्गा कारोबार बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७।१२ प्रतिशतले बढेको aहो  । कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको थियो ।

गत असोजको तुलनामा मात्र नभएर चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा समेत असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको हो । चालु आर्थिक वर्षको साउनमा २ अर्ब ९१ करोड राजस्व उठेको थियो । सरकारले असोजमा घरजग्गा कारोबारबाट ४ अर्ब ८ करोड रुपैयाँ राजस्व उठाएको छ । चाडपर्वका बेलामा घरजग्गा कारोबार सकरात्मक देखिए पनि मंसिरदेखि अझै बढ्ने नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

‘चाडपर्वपछाडि अझै देखिने गरी सुधार आउँछ, जिल्लामा सस्तो प्रपर्टी किनबेच बढेकाले पनि असोजमा घरजग्गा कारोबार सकारात्मक देखियो,’ उनले भने, ‘प्रपर्टी जोड्ने सिजन भएकाले मंसिरदेखि अझै बढ्नुपर्छ ।’

चालु आर्थिक वर्षको साउनमा ७७ हजार ६८ पटक कित्ताकाट भएको थियो । भदौमा ८० हजार ३१७ पटक जग्गाको कित्ताकाट हुँदा असोजमा बढेर १ लाख ६ हजार ३४९ पटक पुगेको विभागको तथ्यांक छ । यस्तो समग्र घरजग्गा कारोबार पनि साउन, भदौ र असोजमा क्रमशः १ लाख १९ हजार, १ लाख २० हजार १ लाख ४० हजार भएको विभागले जनाएको छ । कित्ताकाट नखुल्दा घरजग्गा कारोबार नभएको सरोकारवालाले बताउँदै आएका थिए । चालु आर्थिक वर्षको साउन ३० मा मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।