शीर्षकहरू

आर्थिक मन्दीले जनतालाई सास्ती, ऋणमा राज्य सञ्चालक र जनप्रतिनिधिहरुको मोजमस्ती !

आर्थिक मन्दीले जनतालाई सास्ती, ऋणमा राज्य सञ्चालक र जनप्रतिनिधिहरुको मोजमस्ती !

दशैं नेपालीको महान् चाड । दशैं लाग्नेबित्तिकै अधिकांश आफ्नो थातथलो फर्किन्छन् । काठमाडौं उपत्यकाबाट मात्रै वर्षेनि २५ देखि २८ लाख सर्वसाधारण आफ्नो जन्मथलो फर्किने गरेका छन् । तर, यसपालिको दशैंमा यो संख्यामा कमी आएको छ । हालसम्म झण्डै १५ लाखले मात्रै उपत्यका छोडेका छन् । यो कुराले दुईटा संकेत गरेको छ । पहिलोः कतिपय मँहगी, बेरोजगारीका कारण पहिल्यै गाउँ फर्किए । 

दोस्रोः कतिपय पैसा नभएपछि गाउँ नै गएनन् । काम गरेको ठाउँमा तलब नपाएकाहरु दशैं मान्न गाउँघर फर्किएनन् । अधिकांश निजी कार्यालयले यो वर्ष पेश्की कटौती गरेको छ । तलब दिएपनि पेश्की दिएनन् । कतिपय संस्थाले त तलब नै दिएनन् । आर्थिक मन्दीका कारण तलब र पेश्की दिन नसकेको भन्दै साहुहरु पन्छिएका छन् । अधिकांश कार्यालयले आर्थिक मन्दी भनेर पेश्की कटौती गरेको छर्लङ्ग छ ।  

तलब र पेश्की नपाएकोहरुको दशैं खल्लो भएको छ । गाउँघर त जान पाएनन्, यहाँ बसेर पनि दशैं मान्न नसकेको अवस्था छ । न एकजोर लुगा किन्न सकें न एक छाक मिठो मसिना नै खान पाए । चाडबाड आए–नआएको केही फरक परेको छैन् । सर्वसाधारण आर्थिक मन्दीबाट गुज्रिरहँदा जनप्रतिनिधिहरुले तलब पनि लिए, पेश्की पनि लिए । वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर भूपूसम्मले तलब र पेश्की पाए । 

देशलाई मन्दी भयो । जनतालाई मन्दीले छोयो । तर, राज्य सञ्चालक र सरकारी कर्मचारीहरुलाई मन्दीको असर परेन् । आश्चर्य लाग्ने कुरा त के छ भने जसले कर तिर्छ, उसलाई मन्दीले असर पार्यो । ऊ घर फर्किन सकेन् । दशैं मनाउन उसले सकेको छैन् । देशको सेवा गर्छु, सार्वजनिक काम गर्छु भन्नेले चाँहि तलब र पेश्की दुवै पाए । राज्यको ढुकुटी रित्तिसकेको छ भन्ने कुरा सबैलाई थाहा छ । 
तैपनि, सरकारले तलब र पेश्की दियो, कसरी ? विदेशीसँग हात थापेर । अन्य मुलुकबाट ऋण ल्याएर सरकारले तलब र पेश्की दिएको हो । जनताको आवाज हुँ भनेर कराउँदै हिँड्ने रवि लामिछाने र ज्ञानेन्द्र शाहीको पनि असली रुप बाहिर आएको छ । के–के गर्छ भनेर चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई चुनाव जिताए । 

शाही पनि जुम्लाबाट निर्वाचित भएर आए । चुनावको बेलामा यिनीहरुले जनताको दुःखमा साथ दिन्छौं भनेर ठूल्ठूला कुरा गरेका थिए । तर, अन्य राजनीतिक दलका नेता र यिनीहरुमा के नै फरक देखियो र ? सरकारी गाडी चढें, तलबभत्ता बुझें । अब अहिले दशैं पेश्की पनि लिए । जनताले दशैं मनाउन सकेका छन् कि छैनन्, यिनीहरुले फर्किएर हेरे ? हेरेनन् । 

जनतालाई झुक्काउने काम भएको छ । रास्वपाका २१ जना सांसदले अब जनतासँग माफी माग्नुपर्छ । नैतिकता छ भने पद त्याग्नुपर्छ । हिजो चुनावअघि बोलेका कुरा त पूरा गर्नुपर्यो नि । उनीहरुले भोट माग्ने बेलामा सरकारी सेवासुविधा लिँदैनौं, आफ्नो घरको खाएर जनताको सेवा गछौं, देशविदेश घुम्दैनौं, जनताको सुःखदुःखमा साथ दिन्छौं भन्ने त उनीहरु नै थिए । 

राज्यबाट पाउने सेवासुविधाबाट एक रुपैयाँ पनि नलिने भनेर आश्वासन दिने त यिनीहरु नै हुन् । तर, यिनीहरुले केचाँहि छोडे ? तलब लिएका छन्, सरकारी गाडी चढेका छन्, घरभाडा बुझेका छन्, स्वकीय सचिव राखेका छन् । राप्रपाका सांसदहरु राष्ट्रियताको ठूल्ठूला कुरा गर्छन् । १४ जना राप्रपाका सांसदले राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन् । देशको महिमा गाउने यिनीहरुलाई विदेशीबाट हात थापेर ल्याएको पैसाले सेवासुविधा लिन लाज लागेन् ? 

मुलुक र जनताको नाममा खान आएकाहरुको असली रुप देखि हालियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मुखमा जतिबेला पनि देश र जनताको नाम झुण्डिराखेको हुन्छ । तर, उनलाई देश र जनताको कति माया रहेछ ? भन्ने त पुष्टि भइसकेको छ । देश धितो राखेर ल्याएको पैसाबाट उनले पनि सेवासुविधा लिएकै छन् । अनि यो ‘गोहीको आँशु झारेर’ जनतालाई कतिञ्जेल झुक्काउने ? 

यिनीहरुले दिँउसै रात पारेर देश लुछेर खाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि एक नम्बरका ‘ड्रयाम्याटिक’ नेता हुन् । आफूलाई त्यागी नेता देखाउनका लागि उनले केसम्म गरेनन् ? कहिले टेम्पो चढे त कहिले माइक्रोबसबाट लडें । कहिले एउटै कोठामा २१ वर्ष बसेको भनेर चर्चामा आए । उनको यो ‘स्टन्टबाजी’ पनि सांसद नभएसम्मका लागि रहेको भन्ने पुष्टि भइसकेको छ । 

उनले पनि राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन् । नेमकिपाबाट सांसद प्रेम सुवाल जहिले पनि सदनमा उभिएर विरोध मात्रै गरिरहेका हुन्छन् । विरोध गर्नमा उनी अग्रसर छन् । त्यसैगरी विदेशीबाट ऋण ल्याएको पैसाबाट तलबभत्ता र सेवासुविधा लिँदिन भन्नलाई अग्रसर भइदिए हुनेथियो । सरकारबाट पाउनुपर्नेमध्ये एक रुपैयाँ पनि छोडेका होइनन् । मधेशी दलहरु पनि त्यस्तै । नागरिक उन्मुक्ति पार्टी पनि त्यही लिष्टमा जोडिन्छ । जुनसुकै पार्टीका सांसद हुन्, सबै एउटै ‘ड्याङ्गका मुला’ हुन् । सबैको सिद्धान्त र विचार एउटै छ,‘देशलाई लुटेर खाने ।’

देश सकियोस् तर तलबभत्ता र सेवासुविधाचाँहि पाउनुपर्यो । माओवादीको त झनै कुरै नगरौं । खसीको टाउको देखाएर बाख्राको मासु बेच्यो भन्ने माओवादी नै हो । देश राजा, कांग्रेस र एमालेले सकायो । जनतामाथि शोषण गर्यो । देश विदेशीलाई बेच्यो भनेर हतियार उठाउने माओवादी पनि आज उही लिष्टमा समावेश भएको छ । देश र जनताका लागि के–के न गर्छौं भनेर माओवादीले १७ हजार नेपाली मार्यो । 

देशमा परिवर्तन खोज्ने माओवादीबाट जनताले के परिवर्तन पाए ? माओवादीका सांसद र अन्य पार्टीका सांसदमा के फरक छ ? अहिले मुलुकको प्रधानमन्त्री माओवादीका अध्यक्ष हुन् । उनले तलबभत्ता, सेवासुविधा र पेश्की त्याग्न सके ? माओवादीले जनताका लागि होइन्, आफ्नो व्यक्तिगत स्वार्थका लागि हतियार उठाएको थियो । माओवादीको पछाडि लाग्दा जनता ‘बलिको बोको’ मात्रै भए । 

त्यत्रा नेपालीको रगत चुहाएर माओवादीले मोजमस्ती गरेको छ । एमालेमा कोचाँहि राम्रो सिद्धान्त र विचार भएको नेता छ ? मदन भण्डारी र मनमोहन अधिकारी मरिहालें । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुरै नगरौं । एमालेमा नेता होइन्, गुण्डाहरुको रजगज छ । एमालेमा नेताको विचारधारा भएको एउटा व्यक्ति पनि छैन् । दलालीले चलाएको पार्टी कुन ? भनेर सोध्यो भने एमालेको नाम आउँछ । 

कांग्रेस त पहिल्यैदेखि धनाढ्यहरुको पार्टी । देश र जनताका लागि काम गर्ने कृष्णप्रसाद भट्टराई र प्रदीप गिरी मरिहाले । अहिले कांग्रेसमा जनताको हितमा काम गर्ने र देश जोगाउने कोही पनि छैनन् । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको इशारामा चलेका छन् । डा शेखर कोइराला भन्नलाई कांग्रेस हुन् तर एमालेको शरणमा पुगेका छन् । पदमा लोभिएकाहरुलाई देश र जनताको कुनै मतलब नै छैन् । 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बैंकका कर्मचारी हुन् । बैंकका कर्मचारीको स्वभावबाट सबै परिचित नै छन् । कहाँबाट नाफा हुन्छ ? कसरी ठगेर खान पाइन्छ भन्नेतिर बैंकका कर्मचारीहरुले दिमाग दौडाइरहेका हुन्छन् । अब उनीबाट त झन् के आश गर्नु । जनताले अलिक राम्रो ठानेका बाबुराम भट्टराईले राजनीतिबाट सन्यास लिइहाले । 

देशमा यत्रा सांसद छन् । सरकारलाई घच्घचाउनुपर्ने सांसदहरु आफैं लुटेरा खान पल्केपछि कसरी देश उभो लाग्छ ? २४ खर्ब विदेशी ऋण लागिसकेको छ । यस्तै पारा रह्यो भने नेपाली हो भन्न पनि नपाइएला । त्यसैले अब त सुध्रियौं । अझैं पनि देश र जनताका लागि काम गर्छौं भनेर गीत गाउने होकि ? अब जनता पनि यिनीहरुको गीतको पछाडि नलागौं ।