शीर्षकहरू

उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दशैं, तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका  प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।   

“ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ  । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भने, “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।”चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उहाँले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिए ।   

चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भन्नुभयो “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उनले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गरे । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छन् । 

सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए । उनले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।     प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन रनिरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताए । 
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने  भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ  तर अन्तिम सहमति आइसकेको छैन” उनले भने ।   

प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताए । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।