शीर्षकहरू

नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती

नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमती

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ । मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । 

मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी समेत गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो ।

यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ । सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको को अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो । 

बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोंचका बारेमा प्रस्तुतीकरण समेत गरेका छन् । ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी भई स्टार्टअपहरुलाई हौसला प्रदान गर्नुभएको थियो । 

नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताए । स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको भन्दै नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च स्टार्टअपहरुका चुनौतीको सामना गर्न पूर्ण रुपमा सघाउन तयार रहेको उनले बताए ।