काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण विरुद्ध अख्तियारमा उजुरी परेको छ । शेयर लगानीकर्ताहरूले शुक्रवार अख्तियारमा बोर्ड र प्राधिकरण विरुद्ध उजुरी दर्ता गराएका हुन । लगानीकर्ता तिलक कोइरालाले दिएको जानकारी अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल , कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पौडेल विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको हो ।
यसरी नियामक निकायका प्रमुखहरू बिरुद्ध उजुरी दिनेहरूमा केशव कोइराला, हरि बहादुर केसी, उपेन्द्र राज पाठक लगायत १६ जना रहेका छन् । उनीहरूको उजुरी अख्तियारमा दर्ता नम्बर सी-०२४२४९ सहित असोज २६ गते शुक्रबार दर्ता भएको हो ।
कानुन विपरीत बीमा कम्पनीहरूलाई प्रिमियममा आइपिओ निष्कासन गर्न अनुमति दिएर अख्तियार दुरुपयोग गरेको आरोप लगानीकर्ताहरूको छ । लगानीकर्ता कोइरालाको नेतृत्वमा बिहीबार अनामनगर, काठमाडौंमा भएको भेलाले कानुन विपरीत प्रिमियममा आइपिओ जारी भएको ठहर गर्दै त्यसको विरुद्ध अख्तियार र अदालत जाने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्दै शुक्रबार अख्तियारमा उजुरी दर्ता गरेको जानकारी लगानीकर्ता कोइरालाले दिएका हुन । उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पनि दिइएको छ ।
उनले अदालतमा समेत रिट दर्ता गर्ने जानकारी दिएका छन् । लगानीकर्ताहरूले सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफ सहित चार ओटा बीमा कम्पनीहरूलाई अङ्कित मूल्य भन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको आरोप बोर्ड र बीमा प्राधिकरणलाई लगाएका छन् ।
यी बाहेक हिमालयन रि-ईन्स्योरेन्सलाई अङ्कित मूल्य भन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी भइरहेकाले यसअघि भए गरेका गैर कानुनी कार्यहरू बदर गराउन र हुन लागेका गैर कानुनी कार्य रोकिपाऊँ भनी उनीहरूले उजुरीमा माग गरेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकुल र अपारदर्शी रुपमा मनलाग्दी साधारण शेयरको प्रिमियम मुल्य निर्धारण गरेको आरोप लगानीकर्ताले लगाएका हुन् ।
घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भइरहेकाले सो को छानबिन गरी बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड. कार्यविधि अनुरुप मात्र आइपिओ निष्कासन हुनु अगाडी आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गर्न समेत लगानीकर्ताहरूले माग गरेका छन् । बीमा कम्पनीहरूलाई प्रिमियम आइपिओ निष्कासनका लागि अनुमति दिँदाको प्रावधान र आइपिओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुतकर्ता, रेटिङ. ऐेजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरूको छानबिन गर्न समेत लगानीकर्ताले माग गरेका छन् ।