शीर्षकहरू

नागढुंगा सुरुङमार्गमा स्थानीयको तारन्तार अवरोध, ठेक्का छोड्ने तयारीमा हाज्मा

नागढुंगा सुरुङमार्गमा स्थानीयको तारन्तार अवरोध, ठेक्का छोड्ने तयारीमा हाज्मा

काठमाडौं । बहुप्रतिक्षित नागढुङ्‌गा सुरुङमार्ग निर्माण सम्पन्न हुनै लाग्दा स्थानीयले अनेक समस्या र माग देखाउँदै अवरोध गरेका छन्‌ । स्थानीय अनेक माग राखेर निर्माणमा अवरोध गर्ने, तर सरकारले समस्या समाधान नगर्ने प्रव‍ृति देखिएपछि निर्माण कम्पनी हाज्माले ठेक्का छोड्ने तयारी थालेको छ ।

दुई हजार ६८८ मिटर मुख्य सुरुङमार्गको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसक्दा पनि सुरुङमार्गको काठमाडौंतर्फका स्थानीयले अवरोध जारी राखेका हुन्‌ । हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक टोटीटोलका स्थानीयले सुरुङमार्गको प्रवेशद्वारनजिक करिब ७ मिटर लम्बाइ जमिन भासिएको भन्दै असोज २० गतेदेखि निर्माणकार्य ठप्प पारेका छन्‌ ।

अवरोधकर्ताहरूले सुरुङमार्ग निर्माणमा प्रयोग भएका सवारीसाधन समेत चल्न दिएका छैनन्‌ । ४ दिनदेखि निर्माण ठप्प हुँदा दैनिक ज्यालादारीमा काम गरिरहेका मजदुरहरू कामविहीन भएका छन्‌ । यही भ्वाङलाई देखाएर स्थानीयले सुरुङमार्गको प्रवेद्वारबाट ५०० मिटरसम्मका १० घर तत्काल स्थानान्तरण गर्न माग राखेका छन्‌ ।

यो माग सहित भासिएको स्थानको माटो जाँच गर्ने सहमति भए पनि यसअघि नै स्थानीयका अनेकन माग पूरा गर्दागर्दै हैरानी खेपेको जापानी निर्माण कम्पनी हाज्माका अधिकारीहरूले सुरुङमार्गको ठेक्काबाटै हात झिक्ने मनस्थिति बनाएका हुन्‌ ।

‘हामीले वि.सं. २०७६ असोजमा ठेक्का सकारेका हौं । २०७७ पुसको पहिलो सातादेखि काम थाल्यौं । ४२ महिनाभित्र सुरुङ तयार पारेर नेपाली नागरिकलाई सुविधासम्पन्न र सुरक्षित सुरुङमार्गबाट यात्रा गराउने हाम्रो चाहना हो । तर बारम्बारको अवरोध र नेपालको सरकारले देखाइरहेको उदासीनताले हामी खिन्न छौं,’ हाज्माका एक अधिकारीले आर्थिक न्यूजसँग भने ।

‘स्थानीयले यतिसम्म माग राख्छन्‌ कि पिउने पानी समेत हामीले नै घरघरमा पुर्‍याइदिनुपरेको छ । उनीहरूलाई टाउको दुख्दा पनि सुरुङमार्गलाई दोष दिन्छन्‌ । निर्माण क्रममा देखिइने सानातिना समस्यालाई पनि अतिरञ्जित गर्दै माग थप्दै गइरहेका छन्‌,’ ती अधिकारीले भने, ‘हाम्रो निर्माण इतिहासमै नागढुंगा सुरुङमार्गको पूर्वीद्वार आसपासका जस्ता कठोर र अवरोधक मानिस अन्यत्र देखेका थिएनौं । यहाँका नागरिकले भ्याउने भए हरेक मिनेटमा नयाँ माग राख्ने रहेछन् । हामी आजित भयौं ।’  

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्ग त्रिभुवन राजपथको नागढुंगा खण्ड निकै घुमाउरो, मोडदार र जोखिमपूर्ण छ । काठमाडौं उपत्यकामा/बाट आवागमन गर्दा नागढुंगा प्रहरी चेकपोष्टदेखि सुरुङमार्गको पश्चिमी प्रवेशद्वार सिस्नेखोलासम्मको करिब साढे तीन किलोमिटर सडक टाउको दुखाइ बन्ने गरेको छ ।

चाडबाडका बेला नौबिसेदेखि काठमाडौं प्रवेश गर्न तीन घण्टासम्म जाममा बस्नुपर्ने अवस्था छ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट सिस्नेखोलाबाट सतुङ्‍गलस्थित नेपाल टेलिकमको टावरसम्म आइपुग्न जम्माजम्मी २० मिनेट लाग्नेछ ।

प्रवेशमार्ग सहित ५ किलोमिटर २६ मिटर लम्बाई रहने सुरुङमार्गमा ३ दशमलव ५ मिटर चौडाईका दुई लेन हुनेछन् । आकस्मिक उद्दारका लागि समेत छुट्टै पहुँच टनेल एकसाथ खनिएको छ । मुख्य टनेल ब्रेकथ्रु हुन जम्माजम्मी १५ प्रतिशतमात्रै बाँकी छ ।

जापानी अन्तरराष्ट्रिय सहयोग संस्था (जाइका) को १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ गरी कूल २२ अर्ब रुपैयाँमा लागत अनुमान गरिएको सुरुङमार्गको शिलान्यास २०७६ कात्तिक ४ गते गरिएको थियो । शिलान्यास गर्दा गत आर्थिक वर्षभित्रै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने भनिएको थियो ।

तर, शिलान्यास लगत्तै विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरुङमार्ग निर्माणकार्य रोकिएको थियो । विस्फोटक र निर्माण सामग्री ढुवानीमा अवरोध तथा स्थानीयको बारम्बारको किचलोले काममा ढिलाइ भएपछि सरकारले निर्माण अवधि १४ महिना थप गरेको छ । निर्माण लागत पनि बढ्ने अनुमान छ ।

सुरुङमार्ग निर्माण शुरु भएयता काठमाडौंतर्फका स्थानीय बासिन्दाले विभिन्न माग राखेर कम्तिमा २०० पटक अवरोध गरिसकेका छन्‌ । हाज्माले यो परियोजना निर्माणबाट हात झिके नेपाल सरकारले नै यो आयोजना सम्पन्न गर्न असम्भव हुने सडक विभागका अधिकारीहरू बताउँछन्‌ ।