शीर्षकहरू

हाजिरी गराउन साढे १४ हजार घुस, हेडमास्टरविरुद्ध भ्रष्टाचार मुद्दा

हाजिरी गराउन साढे १४ हजार घुस, हेडमास्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । हाजिरी गराउन साढे १४ हजार रुपैयाँ घुस लिएकी एक प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिका-७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय, शंकरापुरकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदन आएपछि आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट टोली खटाएको थियो । सो टोलीले प्रधानाध्यापक उपाध्यायलाई सेवाग्राहीबाट १४ हजार ५०० रुपैयाँ घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा गत भदौ २६ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनको लागि घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको आयोगले जानकारी दिएको छ ।

उपाध्यायविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १४ हजार ५०० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज (आइतबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।