शीर्षकहरू

पाटन दरबार क्षेत्रमा ढल प्रणाली र पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा

पाटन दरबार क्षेत्रमा ढल प्रणाली र पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्यसँगसँगै विद्युतका केबल भूमिगत गर्ने र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी (एसियाली विकास बैंक को ऋण सहयोग) र ललितपुर महानगरपालिकाको लगानीबाट पाटन दरबार क्षेत्र तथा आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणालीको निर्माण कार्य हुँदै आएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढल प्रणाली निर्माण भएबाट यस वर्षको वर्षायाममा ठूलो पानी पर्दा समेत पाटन दरबार स्क्वायर क्षेत्रका सडक जलमग्न भएनन् भने ढल तथा मङ्गालमा जाम हुने समस्या समेत समाधान भएको छ ।

पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंकका कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले यही असोज २० गते पाटन दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माणको कार्यसँगसँगै  विद्युत तथा टेलिफोनका लाइन भूमिगत गर्ने कार्य समेत सम्बन्धित निकायहरूबाट हुँदै आएको जानकारी दिए ।

पाटन दरबार क्षेत्रमा नमूनाका रूपमा गरिएको ढल व्यवस्थापन कार्यबाट सम्पदा क्षेत्रमा कार्य गर्ने राम्रो अनुभव हासिल भएको उल्लेख गर्दै आयोजना निर्देशक सापकोटाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानीय तहहरूबाट पनि सम्पदा क्षेत्रहरूमा ढल प्रणाली निर्माणको माग आएको जानकारी दिए ।

स्थलगत अवलोकनमा एसियाली विकास बैंक संचालक समितिका कार्यकारी निर्देशक तथा वैकल्पिक कार्यकारी निर्देशकहरू, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिव, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक, आयोजना उपनिर्देशक र आयोजना प्रवन्धक तथा स्थानीय वासिन्दाहरू सहभागी थिए ।