शीर्षकहरू

डाक्टर र नर्सिङ अध्ययनमा कोटा प्रणाली खारेज घोषणा

डाक्टर र नर्सिङ अध्ययनमा कोटा प्रणाली खारेज घोषणा

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोटा प्रणालीका कारण डाक्टर, नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरु पलायनताको खतरा बढेको भन्दै उनले बागमती प्रदेशभित्र डाक्टर, नर्सिङ अध्ययनका लागि सिटको सीमा हटाउने घोषणा गरे । कार्यविधि बनाएर शुल्कको सीमा तोक्ने पनि उनले बताए । शुक्रबार नेपाल परिसंघ बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभामा बोल्दै यस्तो बताएका हुन । 

प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्ने भन्दैै निर्माण एवं संचालनका लागि संघीय सरकारलाई सिफारिस गरेको बताए । उनले आगामी कात्तिममा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालाहरुसँग वृहद् छलफल गर्ने बताए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन । केही समय अगाडि विदेशी मुद्रा संचितीमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरेका हुन ।  

बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको समुद्घान समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्ने तर्फ ध्यान दिन सरकार एवं नियामक निकायलाई अनुरोध गरे। गम्भिर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने बताए । 

“हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधार भन्दा राजनीतिक मुद्धाहरुमा नै ध्यान केन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ”, उनले भने, “त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसबेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।”

 उनले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साँझोदारी मोडलमा उद्योग परिसंघलाई निर्माण तथा संचालन गर्न दिन अनुरोध गरे । यस सम्बन्धी आशय यसअघि नै परिसंघले संघीय उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई बुझाइसकेको छ । 

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले अर्थतन्त्र सुधारका लागि देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।  साधारण सभाको उद्घाटन समारोहमा बागमती प्रदेशका उच्च अधिकारी, उच्च अधिकारी, राजनीतिक दलका नेता, परिसंघका गभर्निङ काउन्सिल सदस्य कृष्णप्रसाद अधिकारी, परिसंघ प्रदेश तथा जिल्ला समन्वय समिति सभापति एजाज आलम, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष विनोद न्यौपाने, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कडेललगायत उद्योगी व्यवसायीहरु सहभागि थिए ।  

अधिवेशनले लेखराज पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय निर्विरोध कार्यसमिति गठन गरेको छ । यसैगरी बागमती प्रदेश उद्योग परिसंघले प्रदेश महिला उद्यमी मञ्च र प्रदेश युवा उद्यमी मञ्च गठन गरेको छ ।