उपचार प्रकृयामा हेल्चक्य्राइँ भएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिटका घटना बढिररहेको छ । यही महिनाको पहिलो साता देशका विभिन्न भागमा चिकित्सकमाथि लगातार आक्रमणका घटना भए । प्रशिक्षार्थी चिकित्सकमाथि भएको आक्रमणलाई लिएर काठमाडौंमै तनाव निम्तियो । देशभरका चिकित्सकहरू बहिरंग विभाग (ओपीडी) सेवा बन्द गरेर आन्दोलनमा होमिए । अहिले सयौं चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नेपालमा काम गर्न नसकिने भन्दै विदेशिन खोजिरहेका खबरहरू सार्वजनिक भएका छन् । स्वास्थ्य क्षेत्रमा उपचार सन्दर्भमा निम्तने गरेको तनावबारे निजी केडिकल कलेज एसोसिएसनका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रबहादुर कार्कीसँग गरिएको कुराकानीको अंश :
पछिल्लो चरणमा मेडिकल क्षेत्रमा भौतिक आक्रमण बढेको छ । सम्मानित मानिने पेशामा कसरी यस्तो अवस्था निम्तियो ?
विनाशकालका बेला मानिसमा विपरीत बुद्धि आउँछ भनिन्छ, त्यस्तै भएको हो । नेपाल कानूनी राज्य हो । यहाँ कानून, न्यायालय र प्रहरी प्रशासन छ । उपचार प्रकृयामा तपाईंलाई केही समस्या छ जस्तो लाग्छ भने न्यायको बाटो समात्नुपर्छ । आफैं मुढेबलका भरमा युद्ध लड्न चाहँदा कहिल्यै विजय प्राप्त गर्न सकिँदैन ।
क्षेत्रमा वेथिती छ । स्वास्थ्य क्षेत्रमा पनि यो बेथिती हुन सक्छ । तर, हातपात गर्न एउटा गिरोह छ । सस्तो पैसा लिएर उनीहरूले अस्पतालहरूमा समस्या आउनासाथ द्वन्द्व निम्त्याउन पीडितलाई उकास्छन् । सबैभन्दा धेरै समस्या काठमाडौंमा छ । राज्यले पनि यो कुरा बुझेको छ, तर राज्य छ या छैन भन्ने प्रत्याभूति पाउन सकिएको छैन । सरकारले समस्याको पूर्ण समाधान गर्न सकेको छैन ।
शतप्रतिशत विश्वास गरेर आफ्नो जिम्मामा आएको बिरामीमाथि चिकित्सकले लापरवाही गर्ने भन्ने हुँदैन । बिरामीको मृत्यु टार्न सक्ने अवस्था हुँदाहुँदै बचाउन नसकेको आत्मग्लानी चिकित्सकलाई जीवनभर हुन्छ । यो कुरा आम नागरिकले बुझ्न जरुरी छ ।
अर्कातिर चिकित्साक्षेत्रमा तीव्र विकास भएको छ । नेपालमा पनि उही स्तरको सेवा अपेक्षा गरिन्छ । अल्पविकसित देशभन्दा हामीकहाँ सयगुणा राम्रो सुविधा छ । तर, उपचार प्रकृयामा विश्वमा कहीँ पनि शतप्रतिशत जीवन सम्भव हुँदैन । अहिले नेपालको स्वास्थ्य क्षेत्रमा ७५ प्रतिशत योगदान निजी क्षेत्रबाट भएको छ । सरकारी अस्पतालमा त १२÷१४ सय डाक्टर छन् । स्वास्थ्य मापदण्डअनुसार त प्रतिहजार नागरिकलाई एक डाक्टर आवश्यक पर्छ । तर सरकारी दरबन्दी हेर्दा यहाँ त एक लाख जनतालाई एक डाक्टर उपलब्ध छ ।
एकातिर स्वास्थ्य क्षेत्रमा पनि कमीकमजोरी छन् । बिरामीको चाप धेरै छ, उपकरण पर्याप्त नहुन सक्छ । अर्कातिर राज्य संवेदनशील नभैदिँदा जनताले पाउनुपर्ने आधारभूत सेवा पनि नपाएपछि आक्रोश बढ्छ ।
हामीकहाँ स्वास्थ्यकर्मीको उत्पादन दिनप्रतिदिन घट्दैछ । पलायन हुने सिलसिला तीव्र छ । जाने बढिरहेका छन्, उत्पादन घटिरहेको छ । असन्तुलनको यही स्थितिमा आउँदा सन्ततीलाई कुन मुखले यही देशमा बस्न भन्ने ? अब त हामीले भन्ने बाटो नै छैन । स्वास्थ्यकर्मीलाई यहाँका मानिसले मादल या ड्रमसेट ठानिरहेका छन् । अबको केही वर्षमै यहाँ स्वास्थ्यकर्मीका अभाव हुने निश्चित छ ।
चिकित्सक या अस्पतालको गल्ती देखाउने गरिएको छ । हामीकहाँ मानवीय त्रुटि या प्राविधिक गल्तीको अवस्था कस्तो छ ?
बाहिर र यहाँ खासै फरक छैन । मानवीय त्रुटिको मात्रा निकै न्यून छ । त्यसलाई कसरी बुझ्ने भन्ने सवाल महत्वपूर्ण हो । मेडिसिनको म पनि नजान्ने जमात अहिले अस्पतालहरूमा ठूला डाक्टरले झैं तर्कवितर्क गर्ने गर्छन् । त्यो जमात प्रायोजित छ र उसैले स्वास्थ्य क्षेत्रप्रति अविश्वास पैदा गरिरहेको छ ।
कुनै बिरामीको मृत्युमा त्यो जमातले लगाउने लान्छना हामीलाई मान्य हुँदैन । सत्य के हो भन्ने कुरा विज्ञले मात्रै केही हदसम्म दिन सक्छ । त्यसको लागि सम्मानित अदालत र मेडिकल काउन्सिल छ । ती निकायमा गएर स्वास्थ्यकर्मीबाट भएको गल्ती या भूलविरुद्ध कानूनी कारबाही गर्न सकिन्छ ।
शतप्रतिशत विश्वास गरेर आफ्नो जिम्मामा आएको बिरामीमाथि चिकित्सकले लापरवाही गर्ने भन्ने हुँदैन । बिरामीको मृत्यु टार्न सक्ने अवस्था हुँदाहुँदै बचाउन नसकेको आत्मग्लानी चिकित्सकलाई जीवनभर हुन्छ । यो कुरा आम नागरिकले बुझ्न जरुरी छ । बुझ पचाउनुको मुख्य कारण आर्थिक हो । लाशमाथि राजनीति गर्ने कुसंस्कार मौलाएको छ ।
चिकित्सकले लापरवाही गरेको खण्डमा अदालत या अन्यत्र जाने बाटो एउटा भयो । तर, उपचार क्रममा चिकित्सकलाई ट्रयाक गर्ने त्यस्तो कुनै उपकरण छैनन् ?
त्यो निगरानी ईश्वरले मात्रै गर्न सक्छन् । यदी जनतालाई हामीले अप्रेशन या उपचार कसरी हुन्छ भन्ने देखाइदिने हो भने कोही पनि उपचार गर्न आउँदैनन् । किनकी संसारको सबैभन्दा नराम्रो अश्त्र भनेको डर हो । मृत्युको भय भएको मानिस उपचार गराउन पनि आउँदैन । हाम्रो पेशा यति संवेदनशील छ कि मैले उपचार क्रममा गरेको अप्रेसनको दृश्य देखाइदिने हो भने अस्पतालमा रहेका ९० प्रतिशत बिरामी भाग्छन् ।
मेडिकल प्रणाली निकै निर्मम हुन्छ । चिकित्सकले गर्ने हरेक काम आम मानिसको बुझाईभन्दा बाहिर हुन्छ । जिउँदो मानिसमा कतिखेर जटितला आउँछ भन्ने निश्चित नै हुँदैन । त्यसैले कुनै पनि कुरा एउटा प्रणालीको गर्भभित्रै राख्नुपर्छ । कुनै गर्भवतीको पेट चिरेर बच्चा निकाल्दा उनको मृत्यु हुने १०० वटा कारण हुन्छन् । चिकित्सकलाई कारण थाहा हुन्छ, तर ती सबै कारणको निदान थाहा नहुन सक्छ । कहिलेकाहीँ रक्तश्राव रोक्नै सकिँदैन । त्यसैले मृत्युको हजार कारण छन् । ती सबै कुरा हामी बिरामीलाई भन्न सक्दैनौं ।
मानिस बाँच्नु या मर्नुका हजार कारण हुन्छन् । चिकित्सकले आफ्नो जिम्मा आएका हरेक बिरामीलाई सकभर बचाउन नै खोजेको हुन्छ ।
मैले मेरो चिकित्सकीय करिअरमा दुईवटा घटना भोगेँ । एउटा बिरामी निको भएर बेलुकीपख डिस्चार्ज हुँदै हुनुहुन्थ्यो । उहाँले नै अर्को दिन डिस्चार्ज गर्न भन्नुभयो । हामीले हुन्छ भन्यौं । भोलिपल्टै उहाँलाई सामान्य ज्वरो देखियो । केयर भइरहेको थियो । म अर्को बिरामीको अप्रेसन गरेर फर्कंदा उहाँको अवस्था गम्भीर भैसकेको थियो । ज्वरो शुरु भएको करिब ६ घण्टामा उहाँको मृत्यु भयो । उपचार पाएर डिस्चार्ज हुन तयार मानिस त्यसरी जाँदा चिकित्सकलाई के हुन्छ ? तपाईं आफैं अनुमान गर्नुस् । उहाँका आफन्तले के भएको भनी सोधे । उहाँलाई के भएको थियो भन्ने चिकित्सकले नै थाहा पाएनन् । के जवाफ दिने ? के भएको भन्ने ?
अर्को घटना : एउटी सुत्केरी महिला भेन्टिलेटरमा लगभग मृत्युको नजिक हुनुहुन्थ्यो । संयोगवशः म अस्पतालमा पुगेँ । सोधखोज गरेँ । प्रसुती पछि देखिएको जटिलता भन्ने थाहा भयो । आफन्तले उहाँका बाँच्नेमा आश मारिसक्नुभएको थियो । मैले पुनः शल्यक्रिया गर्न दिन भनेँ । आफन्तले स्वीकृति दिनुभयो । शल्यक्रिया गरेको एक सातामा उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभयो ।
यी दुई घटनालाई आम मानिसले कसरी बुझ्ने ? उपचार नहुनुको या हुनुको के कारण पेश गर्ने ? त्यसैले मानिस बाँच्नु या मर्नुका हजार कारण हुन्छन् । चिकित्सकले आफ्नो जिम्मा आएका हरेक बिरामीलाई सकभर बचाउन नै खोजेको हुन्छ ।
तपाईंहरूले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरी भव्य पूर्वाधार बनाउनुभएको छ । सो लगानीलाई लिएर केही मानिसहरूले ‘मेडिकल माफिया’ को संज्ञा दिने गरेका छन् । तर, तपाईंहरूले त्यसको प्रतिवाद गर्न सक्नुभएको छैन, किन ?
सुतेको मानिसलाई ब्यूँझ्याउन सकिन्छ । सुतेजस्तो गरेकोलाई सकिँदैन । बुझेर बुझ पचाउने नेता, कर्मचारी, जनता या हामी स्वयम्लाई बुझाउन असम्भव हुन्छ । भगवानलाई त मानिसले गाली गर्छन् भन्ने हामी त मानिस हौं । नेपालको स्वास्थ्य र शिक्षालाई कुन स्तरमा तुलना गर्ने भन्ने कुरा आम मानिसहरूलाई थाहा छैन । आम मानिसहरूप्रति कुनै गुनासो छैन । तर, जसले देश–विदेश गएर स्वास्थ्य क्षेत्र हेरेका छन्, उनीहरूले नै यसो भन्नु चाहिँ दुर्भाग्य हो ।
स्वास्थ्य क्षेत्रमा लगानी गर्नु निकै संवेदनशील र खर्चालु छ । आज आएको उपकरण ६ महिनापछि काम लाग्दैन । बैंकबाट ऋण लिएर संरचना बनाएको छ, उपकरण ल्याएको छ, तर लगानी उठ्नेगरी कमाई हुँदैन ।
माफिया नै बन्नुपरे हामीलाई यो क्षेत्रमा लगानी गर्नुभन्दा ठेकेदारी गर्नु ठीक हुन्छ । यहाँ ठूलाठूला मन्त्रीहरू नै ठेकेदार छन् । त्यसैले, हामीले नेपालको ७० प्रतिशत स्वास्थ्य जिम्मेवारी निजी संस्थाले थेगेका छन् । ६० प्रतिशत शिक्षा निजी क्षेत्रकै काँधमा छ । अर्बाैं रुपैयाँ ऋण लिएर जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारी यही क्षेत्रबाट प्राप्त भएको छ । देशमा ठूलो धनराशी भित्र्याएको छ । जनशक्ति पलायन रोकिरहेको छ । उपचार स्वदेशमै उपलब्ध गराएको छ । कर बुझाएको छ । यस्तो क्षेत्रमा लगानी गरेकालाई माफिया भन्नु उचित होइन ।
जसले एक रुपैयाँ पनि लगानी गरेको छैन, जसले आफ्नो पुरुषार्थमा कहिल्यै विश्वास गरेन । त्यो मानिस चाहिँ महामानव हुन सक्दैन ।
तपाईंहरूले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको स्रोत पारदर्शी भए त प्रश्न उठ्दैनथ्यो होला नि !
अहिले नेपाल रेमिट्यान्स र हामीजस्ता व्यवसाय गर्नेहरूलाई निचोरेर झरेको करले चलेको छ । कर पनि तर्कसंगत छैन । यहाँ त करको पनि कर लगाउने भइरहेको छ । एउटा आम व्यवसाय गर्ने मानिसले आर्जन गरेको ७० प्रतिशतसम्म रकम राज्यले नै लिएर जान्छ । मैले एक करोड कमाउँदा ३५ प्रतिशत कर तिर्छु । कर तिरेर कर्मचारीलाई दिएको तलबबाट पनि राज्यले कर लिन्छ ।
यस्तो स्थितिमा पनि हामीले कर्म गर्न छाडेका छैनौं । जसले जति माफिया भने पनि मैले जानेको काम छाड्नेवाला छैन । अब यो उमेरमा पलायन भएर जानेवाला पनि छैन । तर, मेरा सन्ततीहरूको ग्यारेन्टी मैले दिन नसक्ने भएँ । यी स्वाँठ नेताहरू, कर्मचारीतन्त्र, अबुझ जमातले के बुझ्नुपर्छ भने अब उनीहरू सुध्रिनुपर्छ ।
स्वास्थ्य क्षेत्रमा लगानी गर्नु निकै संवेदनशील र खर्चालु छ । आज आएको उपकरण ६ महिनापछि काम लाग्दैन । बैंकबाट ऋण लिएर संरचना बनाएको छ, उपकरण ल्याएको छ, तर लगानी उठ्नेगरी कमाई हुँदैन ।
स्वास्थ्य क्षेत्र र चिकित्सकहरूलाई लान्छना लगाइरहँदा भोलिका दिनमा नागरिकलाई सिटामोल दिने मानिस पनि नहुने हुन् कि भन्ने जोखिम बढेको छ । हिजो कोरोना महामारीका बेला जसले ज्यान हत्केलामा राखेर बचायो, उसैलाई टोलमा पस्न दिइएन । कोठाबाट निकालियो र सडकमा पनि बस्न दिइएन । उनै चिकित्सकले आम मानिसलाई बचाए । कोरोना संक्रमितको उपचार गर्दागर्दै धेरै चिकित्सकहरूले ज्यान गुमाए ।
तपाईंले चिकित्सा क्षेत्रमा राजनीतिकरण भयो भन्नुभयो । यसलाई नियमन गर्न विभिन्न निकायहरू छन्, उनीहरूले हेर्नुपर्ने होइन ?
हामीकहाँ सिस्टम होइन, सिस्टम चलाउने मानिस खराब भएका हुन् । हामीकहाँ राम्रो कानून छ । कानून पालना गराउने प्रहरी प्रशासनको हात बाँधिएको छ । प्रशासनले केही एक्सन लिन खोज्दा दलका नेताहरू यो त मेरो भ्रातृ संगठनको कार्यकर्ता भन्दै जोगाउन लागिपर्छन् ।
हेटौंडा, पोखरा, विराटनगर र काठमाडौंमा चिकित्सकमाथि भएको हातपातपछि कम्तिमा २०० जना बिरामीले अकालमा ज्यान गुमाए । किनकी हातपात भएपछि चिकित्सकहरूको मनोबल नै गिर्यो । उनीहरू उपचार गर्न जानै मानेनन् । बरु बिरामीलाई अन्यत्र रिफर गरियो । त्यस्ता अस्पतालमा रिफर गरियो : जहाँ स्रोतसाधन र दक्ष जनशक्ति नै पर्याप्त थिएन ।
एक दिनमात्रै प्रहरी प्रशासनले काम नगर्ने हो भने नेपालका सबै अस्पताल बन्द हुन्छन् । यहाँ पढेका डाक्टर करिब २० हजार छन् । बाँकी सबै नागरिक पढ्दै नपढेका डाक्टर बनिदिन्छन् । प्रहरी प्रशासनकै कारण हामीले स्वास्थ्य सुविधा दिन सकिरहेका छौं ।
हामीले बारम्बार भनिरहेका छौं कि यदी स्वास्थ्य संस्थाबाट गल्ती भएको हो भने मेडिकल काउन्सिल छ । उपभोक्ता ऐन र सम्मानित अदालत छ । निकायहरू हुँदाहुँदै हातपातमा उत्रिनुको औचित्य कसैले पुष्टि गर्न सक्दैन । हातपात गरेर फेरि न्यायनिसाफमा जाने हो भने त्यो हामीलाई मान्य हुँदैन । बजाउन हामीलाई पनि आउँछ ।
कतिपय मेडिकल सञ्चालकहरू आफैं राजनीति गर्ने, भ्रातृ संगठनहरूलाई आफैंले बोलाउनेजस्ता गतिविधि गरिरहेछन् । त्यसले पनि त स्वास्थ्य क्षेत्रमा अस्थिरता निम्त्याएको होला नि !
आजभन्दा १० वर्षअघिको सन्दर्भ फरक हो । वर्तमानको कुरा गर्नुपर्छ । अहिले मिडियाहरू छन् । मेरो अस्पतालमा भएको कुरा म भन्दा पहिले आम मानिसमा पुगिसकेको हुन्छ । यी क्षेत्रमा आमूल परिवर्तन भएको छ ।
केही समयदेखि म नेपालका मेडिकल कलेज र डेन्टल कलेजको अध्यक्ष छु । अहिले हामीसँग दक्ष जनशक्ति छैन । एकातिर आर्थिक रूपमा तलब कम छ । अर्कातिर त्यही चिकित्सक वा स्वास्थ्यकर्मीले विदेश जाँदा लाखौं तलब बुझ्न सक्छन् । घरपरिवार र भविष्य व्यवस्थापन गर्न दिनहुँ दक्ष जनशक्ति पलायन भैरहेको छ । अर्कातिर, यहाँ कार्यरत चिकित्सकहरूमाथि हातपात भइरहेको छ । अब उपचार कसले गर्ने ?
हेटौंडा, पोखरा, विराटनगर र काठमाडौंमा चिकित्सकमाथि भएको हातपातपछि कम्तिमा २०० जना बिरामीले अकालमा ज्यान गुमाए । किनकी हातपात भएपछि चिकित्सकहरूको मनोबल नै गिर्यो । उनीहरू उपचार गर्न जानै मानेनन् । बरु बिरामीलाई अन्यत्र रिफर गरियो । त्यस्ता अस्पतालमा रिफर गरियो : जहाँ स्रोतसाधन र दक्ष जनशक्ति नै पर्याप्त थिएन ।