शीर्षकहरू

खानेपानी आयोजना निर्माणमा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर

खानेपानी आयोजना निर्माणमा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । खानेपानी आयोजना निर्माण गर्दा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसमेत १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको पाइएको हो । आ.व. २०७६/०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबिच सम्झौता भएको थियो । 

उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरी गराई सोही वमोजिमको झुट्टा बिल भरपाई तयार गरिएको थियो । 

भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने रकम ४ लाख ६६ हजार ४८८ रुपैयाँ भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पर्याएको उनीहरुविरुद्धको आरोपमा उल्लेख छ । उनीहरु १३ जनाले बद्नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने÷लिने कार्य गरे÷गराएको पुष्टि भएको अख्तियारको दाबी छ ।