शीर्षकहरू

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । 

जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । 

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादशैंको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ ।