शीर्षकहरू

औद्योगिकरण गर्न थप लगानीको खाँचो छः अध्यक्ष नेपाल

औद्योगिकरण गर्न थप लगानीको खाँचो छः अध्यक्ष नेपाल

सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा  सम्भावना रहेकाले यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नुपर्ने बताएका हुन् ।   

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रीत गर्नुपर्ने उनले बताए । नेपालले जनतालाई गरिबीबाट मुक्त गर्न  कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताए । उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पुर्याउनु पर्दछ । ”

अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको बताए । पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताए । उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने बताए ।