शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेको नेपालीमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेको नेपालीमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ १९ गतेदेखि असोज २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ असोज १५ गते बाँडफाँट गरेको जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने असोज १७ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर स्थानीयमा विक्री खुला गरेको हो ।

स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले योे आईपीओ  खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा १९ हजार १२० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सदस्यमार्फत र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अुनमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।