काठमाडौं/पर्सा । विश्व बैंक सहायताको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट-दोस्रो) परियोजनामा व्यापक भ्रष्टाचारको गन्ध फैलिएको छ । नेपालमा प्राविधिक शिक्षा व्यवसायिक तालिम प्रणाली सुदृढ गरी दक्ष जनशक्ति आपूर्ति बढाउने भनिएको परियोजनामा घुसको आपूर्ति भइरहेको पाइएको हो ।
पर्साको एक प्राविधिक शिक्षालयले परियोजना कार्यालयका ‘हाकिम साहेब’हरूलाई बुझाउन भनी ल्याएको ६ लाख रुपैयाँ कमीसन (घुस) रकम तलमाथि परेपछि इभेन्ट-दोस्रो परियोजनामा भएको अनियमितता छताछुल्ल भएको छ । पर्सागढी नगरपालिका-३, पकडिया बडनिहारस्थित जनता माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयमा यही परियोजनाले अहिले तनाव निम्त्याएको छ ।
विद्यालयमा पहिलो, दोस्रो र तेस्रो किस्ता गरी १ करोड २० लाख रुपैयाँ पठाएकोमा पटकपटक आर्थिक हिनामिना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान थालेको बुझिएको छ ।
परियोजनाको कार्यालय काठमाडौं बुद्धनगरमा छ । यही कार्यालयमा कार्यरत परियोजनाका कर्मचारीले ६३ लाखको ६ प्रतिशत हाराहारीका दरले घुस रकम मागेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी र विद्यालयका लेखापाल शिवनारायण चौधरी ६३ लाखको १० प्रतिशत कमीशन रकमबापत ६ लाख रुपैयाँ अभिवृद्धि परियोजना काठमाडौंमा बुझाउन विद्यालयबाटै लिएर गएको खुलेको छ ।
विद्यालयबाटै घुस रकम लिएर काठमाडौं आए पनि परियोजना स्वीकृत नभएपछि हल्लाखल्ला भएको थियो । घुसको आधा रकममात्रै दिएर आधा अर्थात् ३ लाख रुपैयाँ अध्यक्ष र लेखापालले नै राखेकाले परियोजना स्वीकृत नभएको उनीहरूले आरोप लगाए । सो ३ लाख रकम तत्काल विद्यालयमा जम्मा गर्न उनीहरूले दबाब दिए । अर्कातर्फ शिक्षालयमा पूर्वाधार निर्माण र भ्रमणका नाममा व्यापक हिनाहिना भइरहेको थियो ।
अभिभावकहरू जुर्मुरिँदै खनिएपछि विद्यालयका अध्यक्षले नै पोल खोले, ‘कमीशन बापतको रकम व्यवसायिक शिक्षा तथा तालिम परियोजना बुद्धनगर काठमाडौंका शाखा अधिकृतअष्ट लामालाई एक होटलमा बोलाई बुझाएको हो । मैले राखेको छैन।’
प्राविधिक शिक्षालयका संयोजक तपेश्वर यादवले करारको शिक्षक रहेका कारण आफूलाई समिती र प्रधानाध्यापकले दबाब दिई चेकमा हस्ताक्षर गर्न लगाउने गरेको र कमीशन बापतको रकममध्ये ३ लाख अध्यक्ष र लेखापालले हिनामिना गरेको कारण फर्छ्योट हुन नसकेको बताएका छन् ।
अभिभावकहरूले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी, प्रधानाध्यापक मोहनप्रसाद चौधरी, कृषि भेटेनरी प्राविधिक शिक्षालयका संयोजक तपेश्वरप्रसाद यादव र विद्यालयका लेखापाल शिवनारायण चौधरी यो अनियमिततामा संलग्न भएको दाबी गरेका छन् । विद्यालयका प्रधानाध्यापक मोहन चौधरी पत्रकार देख्नासाथ लुक्ने र भाग्ने गरिरहेका छन् ।
देशैभरबाट कमीशन
इभेन्ट परियोजनाका कर्मचारीहरूले सोझै या बिचौलिया लगाएर देशभर नै घुस आतंक मच्चाएको बुझिएको छ । आर्थिकन्यूजलाई यसबारे प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका या गर्न खोजेका दर्जनबदी विद्यालय सञ्चालक र व्यवस्थापकहरूले आफूसँग घुस मागिएको बताएका छन् ।
‘त्यहाँका कमर्चारीले २०७४ माघमा विश्व बैंक र नेपाल सरकारबीच प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी इभेन्ट-दोस्रो परियोजनामा हस्ताक्षर हुनुअघि नै घुसको दर तोकिएको हो भन्छन्, बजेट पारिदिने भए ६ देखि १५ प्रतिशतसम्म कमीसन चाहिन्छ भनी अड्डी कस्छन्,’ ती विद्यालय व्यवस्थापक भन्छन्, ‘घुस नदिऊँ : शिक्षालय चलाउने रकम आउँदैन, दिऊँ : आफैं बदनाम हुने अवस्था छ । शिक्षालयमा भइरहेको यो ठूलो भ्रष्टाचारबारे नियामकलाई थाहा छ, तर उनीहरूले आँखा चिम्लिएका छन् ।’
यसरी बुझाइएको घुस रकम इभेन्ट कार्यालयका कर्मचारीदेखि विश्व बैंकका आवासीय प्रतिनिधिसम्मले भागबण्डा गर्ने गरेको सुनिएको ती विद्यालय व्यवस्थापक बताउँछन् ।
परियोजनाका सूचना अधिकारी भन्छन् : ‘घुस माग्नेलाई चड्कन !’
इभेन्ट परियोजनाका सूचना अधिकारी शिवराज पोखरेलले परियोजना पारिदिने भन्दै विभिन्न व्यक्तिले घुस माग्ने गरेको सुनेको, तर आफूले त्यसरी घुस माग्नेलाई चड्कन हान्न सुझाव दिएको बताए ।
इभेन्ट परियोजनाबाट प्राविधिक सहायता प्राप्त गर्न विभिन्न मापदण्ड पूरा गर्नुपर्ने हुनाले घुसको सम्भावना नरहेको पोखरेलको दाबी छ । उनले भने, ‘मापदण्ड जाँच गरी भएका कामको स्थलगत अनुगमन गरेपछि मात्रै रकम भुक्तानी हुने हो । त्यसैले अनियमितता आरोपमा सत्यता नहुन सक्छ ।’
घुस बुझेको आरोप खेपेका शाखा अधिकृत अष्ट लामाले आफूले कुनै किसिमको कमीशन नलिएको प्रतिक्रिया दिएका छन् । उनले शिक्षालयमा भएको आर्थिक अनियमितताबारे चाँडै निरीक्षण गरी दोषी ठहर भए कारबाही हुने प्रतिबद्धता जनाउन समेत भ्याएका छन् ।
पर्सामा भइरहेको बदमासी
पर्साको जनता माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयमा अनियमिता भएपछि त्यसविरुद्ध अभिभावकहरू नै जागेका छन् । विद्यालय व्यवस्थापन समितीकी सदस्य जानकीदेवी थरुनिले त्यहाँ इभेन्ट परियोजना र प्राविधिक शिक्षालयका नाममा दर्जनौं अनियमितता भएको जानकारी दिएकी छिन् ।
पहिले नै निर्माण गरिएको पुरानो टनेल हाउस एक ठाउँबाट अर्को ठाउँमा सार्दा १ लाख पनि नलागेको काममा ३ लाख १३ हजार खर्च गरेको, माटो पुर्न १ लाख १५ हजार लागेको ठाउँमा २ लाख ९२ हजार, पर्खाल निर्माणमा ३ लाख ९३ हजार, शौचालय निर्माणमा ५ लाख ७९ हजार, तीन दिनको लागि १५ जना विद्यार्थी र शिक्षकहरू पोखरा शैक्षिक भ्रमण घुमेको ७ लाख ५० हजार, ७ जना प्राविधिक शिक्षकहरूको पोशाक सिलाएबापत २ लाख ९८ हजार रुपैयाँ लगायतका खर्चहरूमा अनियमितता गरेको उनले बताइन् । आफूलाई कुनै बैठकमा नबोलाउने र घरमै गई माइन्यूट बुकमा सही गराउने गरेको उनको भनाइ छ ।
अभिभावक वीरेन्द्र चौधरीले विद्यालयमा पटक-पटक आर्थिक अनियमितता हुँदासमेत नियमनकारी निकाय चुपचाप बस्नुमा उनीहरूको पनि मिलेमतो रहेको दाबी गरे ।
जनप्रतिनिधिकै दोहोरो कुरा
पर्सागढी नगरपालिका-३ का वडाध्यक्ष अध्यक्ष शुकमान तामाङले प्राविधिक शिक्षालयका नाममा अनियमितता भएको पाइए जो कोहीलाई पनि कारबाही गरिने बताए ।
नगरप्रमुख गोकर्ण पाठकले प्राविधिक शिक्षालयमा इभेन्ट परियोजनाबाट आएको रकमबारे पालिकासँग कुनै सहकार्य नभएको र आफ्नो मातहतमा समेत नरहेको कारण विद्यालयमा भएको अनियमितबारे सम्बन्धित निकाय नै जवाफदेही हुने जवाफ दिए ।