शीर्षकहरू

अदालतमा बयान फेरेपछि पीडितविरुद्ध नै भ्रष्टाचार मुद्दा

अदालतमा बयान फेरेपछि पीडितविरुद्ध नै भ्रष्टाचार मुद्दा

काठमाडौं । विशेष अदालतमा बयान फेर्दा एक पीडित आफैं भ्रष्टाचार आरोपमा जेल पुग्ने स्थिति निम्तिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामालाई अनुसन्धानको क्रममा सरकारी साक्षीको रुपमा पेश गरेकोमा अदालतमा बयान फेरेको भन्दै विशेष अदालतमै भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।

गत माघ १२ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका थिए । आयोग केन्द्रीय कार्यालयकै टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो । ढुंगेलले प्रशोधित पानी उट्टपादन गर्ने कम्पनीका लागि अनुज्ञापत्र लिन गएका व्यवसायी लामा लगायतसँग घुस मागेका थिए ।

पक्राउ परेका ढुंगेलमाथि आवश्यक अनुसन्धान गरी आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर गरेको थियो । आरोपपत्र दायर गर्दा घुसपीडित ज्ञानहरी लामाले आफू सरकारी साक्षी बस्ने भनी बकपत्र गरेका थिए । तर, उनले अदालतमा एकाएक बयान फेरेका थिए ।

बयान फेरेपछि अख्तियारले लामाविरुद्ध नै घुस दिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनले घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले आरोपपत्रमा लेखेको छ ।

लामालाई बिगो एक लाख ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को (घ) बमोजिम कैद सजाय र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

यसैगरी वैदेशिक रोजगार विभाग बुद्वनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा विशेष अदालतमा पेस गरिएका जिल्ला दैलेख, नैमुले गाउँपालिका बस्ने देवबहादुर थापाविरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिवादी नायब सुब्बा प्रमोद पाण्डे भएको मुद्दामा अनुसन्धानको क्रममा थापालाई सरकारी अख्तियारले विशेष अदालतमा साक्षीको रुपमा पेश गरेको थियो । थापाले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

वयान फेर्ने थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम भ्रष्टाचारजन्य कसुर भएकोले निज देवबहादुर थापालाई ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो वमोजिम जरिवाना गरी उक्त विगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।