शीर्षकहरू

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टर कुटिए, दुईजना पक्राउ

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टर कुटिए, दुईजना पक्राउ

काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएका खबर आइरहँदा संघीय राजधानी काठमाडौंमै इन्टर्न डाक्टर कुटिएका छन्‌ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न (प्रशिक्षार्थी) डाक्टर मनिष खड्कामाथि आक्रमण भएको हो । 

खड्कालाई मध्याह्न साढे १२ बजेतिर मिर्गौला रोग परीक्षण गर्न बहिरङ्ग विभाग (ओपीडी) मा आएका बिरामीले कुटपिट गरेका अस्पताल प्रशासनले जानकारी दिएको छ । कुटपिट भएपछि अहिले चिकित्सकहरूले सिनामंगल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्‌ ।

खड्कामाथि कुटपिट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले चाबहिल बस्ने गरेका २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो । उनीहरू दुबैजना गुल्मीका हुन्‌ ।

यसअघि पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक कुटिएका थिए । सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले सुरक्षाको ग्यारेन्टी गर्ने जनाउँदै काममा फर्काएको थियो ।