शीर्षकहरू

नौ महिनामा करिब सात लाख पर्यटक नेपाल आए, ४३६ लाई हिमाल आरोहण अनुमति

नौ महिनामा करिब सात लाख पर्यटक नेपाल आए, ४३६ लाई हिमाल आरोहण अनुमति

काठमाडौं । सन् २०२३ को नौ महिनाको अवधिमा करिब सात लाख पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म अर्थात्‌ यो नौ महिना अवधिमा ६ लाख ९२ हजार ३७५ जना पर्यटक नेपाल भित्रिएका छन् ।  

अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले पछिल्लो वर्ष पर्यटक आगमनको संख्या बढ्दो रहेको बताए । उनले भने, ‘कोरोना महामारीले खस्किएको यो क्षेत्र विस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय पर्यटक आगमनको संख्या दिनप्रतिदिन बढ्दो छ । सिजनमा पर्यटक आगमन उत्साहजनक नै छ ।’  

कुन महिनामा कति आए ?     

अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता विदेशी पर्यटक आउने संख्या बढ्दै गएको तथ्याकमा देखिन्छ ।

जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । यस्तै फेब्रुअरी महिनामा ७३ हजार २५६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिए । सो महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आए थिए । मार्च पछि अप्रिल महिनामा पनि पर्यटक आगमन उत्साहजनक नै देखिएको छ । अप्रिल महिनामा ९८ हजार सात सय ७४ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।  

त्यस्तै, मे महिनामा  ७७ हजार ७०४ जना पर्यटक नेपाल भित्रिएका थिए भने जुन महिनामा ७२ हजार २५० जना आएका थिए । जुलाई महिनामा ५७ हजार ७२२ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

जुलाइमा भन्दा अगष्टमा पर्यटक आगमनको संख्या १० हजारले बढी रहेको छ । यस महिना ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विदेशी पर्यटक आगमनको संख्या सेप्टेम्बर महिनामा ह्वात्तै बढेको छ । यस महिना ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका हुन् ।  

सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटनको मुख्य सिजन मानिन्छ । अहिले यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् । पर्यटनको सिजनको सुरुवाती समय रहेकाले अझै पर्यटक भित्रिने क्रम बढ्ने भुसालको भनाइ छ ।  

४३६ जनाले हिमाल आरोहण अनुमति

यो सिजनमा ४०० जना भन्दा बढीले हिमाल आरोहण गर्न अनुमति लिएका छन् । शरद ऋतुमा जारी हिमाल आरोहण गर्न ३४२ जना पुरुष र ९४ जना महिलागरि जम्मा ४३६ जनाले हिमाल आरोहण अनुमति लिएका हुन् । जसमा नेपालसहित ५१ देशका नागरिक रहेका छन् ।

नेपाल पर्यटन विभागका अनुसार २६ वटा हिमाल आरोहण गर्न ५६ समूहका आरोहिहरूलाई अनुमति दिएको हो । हिमाल आरोहण गर्न नेपाल आउनहरूमध्ये  चीनबाट ६७ जना रहेका छन् । त्यस्तै, अमेरिकाबाट रुसबाट ३६, जापानबाट २८, फ्रान्सबाट २५, भारतबाट २४, बेलायतबाट २२, स्पेनबाट २० र जर्मनीबाट २० जनाले अनुमति लिएका छन् ।

सबैभन्दा बढी मनास्लु आरोही

शरद ऋतुमा सबैभन्दा बढी मनास्लु हिमाल आरोहण गर्नका लागि आरोहीहरूले अनुमति लिएका छन् । यस हिमाल आरोहण गर्नका लागि ३०१ जनाले अनुमति लिएका हुन् । जुन २६ समूहका रहेका छन् ।  

त्यस्तै, धौलागिरि आरोहण गर्न २३ जनाले अनुमति लिएका छन् । जसमा चार समूहका १२ पुरुष र ११ महिला रहेका छन् । यस्तै, हिमलुङ हिमाल आरोहण गर्न १४ जना, अमादब्लम आरोहण गर्न १० जना र टुकुचे पिकका लागि ८ जना आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।