काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
यी वाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यी वाहेक बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीो विक्री अवधि छिटोमा असोज १७ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २८ गतेसम्म विक्री लम्बिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।