शीर्षकहरू

त्रियुगाका पूर्व मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रियुगाका पूर्व मेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।   

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित मिलेमतोगरि राजस्वमा हानिनोक्सानी पुर्‍याएको उनीविरुद्ध आरोप रहेको छ । 

नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईइइ) स्वीकृत गरिएको थियो । त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरिएको थियो । जसमा नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरेको पाइएको आयोगको दाबी छ । 

चौधरीले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आईइइ प्रतिवेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको अख्तियारको भनाई छ । उनले वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको ६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैर कानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको अख्तियारको आरोप छ । 

प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याएको कारण माटो भरौटे र बलौटेको राजस्व अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैयाँ चौरानब्बे पैसा चुहावट भएको पाइएको अख्तियारले जनाएको छ । उक्त कार्यमा एकासी लाख पैँतीस हजार तीन सय बयासी रुपैयाँ राजस्व चुहावट गरेकोले चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ । उनीसँग एकासी लाख पैँतीस हजार तीन सय बयासी रुपैयाँ बिगो, चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना माग गर्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।  

यस कार्यमा निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार समेत संलग्न रहेको पाइएको छ । उनले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको पाइएको अख्तियारले जनाएको छ । 

उनीसँग पनि अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उक्त राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ उनीबाट असुल गर्नु पर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ ।