शीर्षकहरू

नेपालको अर्थतन्त्र धान्न सक्ने क्षेत्र जलविद्युत हो, सरकारले तत्काल सहजीकरण गर्नुपर्छ

नेपालको अर्थतन्त्र धान्न सक्ने क्षेत्र जलविद्युत हो, सरकारले तत्काल सहजीकरण गर्नुपर्छ

नेपालको सेतो सुन मानिएको जलविद्युतबारे पछिल्लो समय विभिन्न बहस हुँदै आएको छ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद यथावत् रहँदा हालै विद्युत विधेयक, २०८० माथि ऊर्जा उत्पादकहरूले विमति जनाइरहेका छन् । नेपालमा जलविद्युत उत्पादन, यसको व्यापारमा देखिएको विवाद र समाधानका उपायबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का अध्यक्ष एवम् बेनी हाइड्रोका प्रबन्ध निर्देशक गणेश कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

यहाँहरूले विद्युत विधेयक निजी क्षेत्रमैत्री र उत्पादनमैत्री भएन भन्नुभएको छ । विधेयकमा निजी ऊर्जा उत्पादकलाई अघि बढ्न नदिने त्यस्तो प्रावधान के छ ?

पहिलो विद्युत विधेयक २०५९ मा तयार भई २०५० देखि कार्यान्वयनमा आयो । त्यही विधेयक ल्याइएपछि नेपालमा जलविद्युत विकासले केही गति लियो । विद्युत उत्पादनमा ११३ वर्ष अवधि हेर्दा २०५० सालपछि ३० वर्ष अवधिमा निजी क्षेत्रले थुप्रै आयोजना विकास गरी विद्युत उत्पादन थालेका छन् । लाइसेन्स लिएर मात्रै नबस्ने र अन्य समस्याहरू समाधान भएको भए अझै धेरै उत्पादन हुन सक्थ्यो । धेरै विकासकर्ताहरू विद्युत खरिद सम्झौता (पीपीए) गर्न पर्खिएर बसिरहेको अवस्था छ ।

हामीले धेरै अघिदेखि नीतिहरू समयसापेक्ष परिमार्जन हुनुपर्ने माग राख्दै आएका छौं । विद्युत व्यापारमा सहजीकरण र नीतिगत समस्याहरू हट्नुपर्छ भन्ने हाम्रो माग हो । नेपाल सरकारले पनि मौजुदा विधेयक समयअनुसार परिमार्जन गर्दै विद्युत उत्पादनमा रहेका समस्या समाधान गर्न तयार भएको हो । नयाँ विधेयक ल्याउन धेरैपटक पहल भयो र अघिल्लो सरकारको पालामा पनि मन्त्रीपरिषदबाट स्वीकृत गरी संसदमा दर्ता गरिएको थियो । सरकार फेरिएसँगै त्यो विधेयक फिर्ता गरियो ।

विधेयक बनाउँदा सामान्यताः सम्बन्धित पक्षहरूलाई पनि छलफलमा ल्याउँदा धेरै समस्या समाधान गर्न सकिन्छ । तर, पहिले नै धेरै परिमार्जन गरिएको र संसदमा पनि पेश भइसकेको भन्दै सरकारले छिटोछिटो अघि बढाएर संसदमा पेश गर्‍यो । पहिले नै राखिएका केही प्रावधानहरू परिमार्जन गरिएको रहेछ । हामीले त्यसअघि नै ऊर्जा मन्त्रालयलाई विधेयक उपलब्ध गराउन आग्रह गरी त्यसमा पृष्ठपोषण दिने अवसर प्रदान गर्न आग्रह गरेका थियौं ।

यो विधेयकमा सबैभन्दा ठूलो आपत्ति के हो भने हामीले जति पनि जलविद्युत आयोजनाको लाइसेन्स लियौं, ती आयोजनाबाट विद्युत उत्पादन गर्‍यौं, गर्ने चरणमा छौं, पीपीए पर्खाइमा छौं : यी सबै २०४९ सालको विधेयकअनुसार भएका हुन् । त्यसैलाई मानेर ५० वर्षको लाइसेन्स पिरियड र थप पाँच वर्ष अध्ययन गरी ५५ वर्षको अवधि तोकिएको थियो । हामीलाई कार्यविधि बनाएर ३५ वर्षका लागि जेनेरेशन लाइसेन्स दिइन्थ्यो । ३४ वर्ष पुगेपछि लाइसेन्स अद्यावधिक गर्न निवेदन दिनुपर्ने भनिएको थियो । हामीले पचासै वर्षका लागि लाइसेन्स दिइएको हो भन्ने बुझेका थियौं ।

जहिले पनि नयाँ नीति ल्याउँदा पहिलेको भन्दा प्रगतिशील हुनुपर्छ । अहिलेको नीतिले अब बन्ने आयोजनालाई ४५ वर्षको लागि लाइसेन्स दिने भनिएको छ । त्यो सँगै अर्को ठूलो समस्या के भयो भने हामीले संकटको बेलामा जति पनि जलविद्युत आयोजना बनाएर देशलाई अन्धकारबाट उज्यालोमा ल्याउन मेहनत गर्‍यौं, जति ठूलो संघर्ष गरेर यो ठाउँमा आइपुग्यौं : पुराना आयोजनाको हकमा जेनेरेशन लाइसेन्समा लेखेको अनुसार नै हुनेछ भनेर लेखियो । पहिले ५० वर्ष भनेकोलाई पनि ३५ वर्षमै झारिदिने काम भयो । त्यसमै हाम्रो ठूलो आपत्ति हो ।

अहिले देशमा झण्डै २८ सय मेगावाट विद्युत उत्पादन भएको छ । सो मध्ये झण्डै १८ सय मेगावाट विद्युत निजी क्षेत्रले विकास गरेका आयोजनाबाट आएको छ । करिब ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने आयोजना निर्माणाधीन छ । त्यसमध्ये झण्डै ३५ सय मेगावाटजति उत्पादन हुने आयोजना निजी क्षेत्रको हो । १० हजार ५०० मेगावाट विद्युत उत्पादन हुने आयोजनाहरूले विद्युत खरिद सम्झौताका लागि आवेदन दिएका छन् ।

पाँच वर्षभित्र पीपीए गरी जेनेरेशन लाइसेन्स नलिए त्यस्ता आयोजना स्थगित हुन्छन् । यी आयोजनाका लागि जेनेरेशन लाइसेन्सको आवेदन दिइएको हुन्छ । आवेदन दिँदा नै वन, जमिन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) का समस्याहरू भोग्नु परिरहेको हुन्छ । काम गर्छौं भनेर यति धेरै लाइसेन्स लिई हामी बसेका छौं । हामीले आयोजना ओगटेर बसेका पनि होइनौं । किनकी पीपीए खोलेको भए हामीले आयोजनाहरू बनाइसक्थ्यौं । 

पूराना आयोजनाहरूलाई थप सुविधा दिनुपर्नेमा नयाँलाई मात्र प्राथमिकता दिइएको छ । यसरी विद्युत उत्पादनमा अघि बढेका उत्पादकहरूलाई मारमा पार्ने काम भएको छ । यो सँगै अर्को : हामीले धेरै लाइसेन्स लिएर बसेका छौं । नयाँ विधेयक पढ्दै गर्दा के देखिन्छ भने सरकारले अब सबै आयोजना प्रतिष्पर्धाका आधारमा दिने योजना बनाएको छ । पुराना आयोजनाहरूको लाइसेन्स केही न केही समस्या देखाएर खारेज गर्न खोजिएको देखिएको छ । लाइसेन्स लिएको चार/पाँच वर्षभित्र अध्ययन, डिजाइन लगायतमा धेरै लगानी भइसकेको छ । समयमै पीपीए खोलेको भए विकासकर्ताहरूले आयोजना निर्माण सम्पन्न गरिसक्ने अवस्था बन्थ्यो । अहिले नयाँ नीति ल्याएर सबैको लाइसेन्स खारेज गर्नु उचित होइन । आपत्तिका विषय धेरै भए पनि प्रमुख समस्या यिनै हुन् । हामीले लिखित नै दिएका छौं । 

तपाईंहरूले यसअघि बनाउनुभएका आयोजना सहज ठाउँमा होला । अहिले त कुनाकन्दरा र पहुँच पूर्वाधार बनाउन पनि गाह्रो हुने ठाउँमा पनि लाइसेन्स लिएको अवस्था छ । प्रतिष्पर्धाबाटै लाइसेन्स जारी गर्दा त यहाँहरूलाई पनि सजिलो होला नि !

सरकारले भएजति सबै लाइसेन्स खारेज गर्ने, राम्रा आयोजनाहरू सरकार आफैंले बनाउने र बाँकी अप्ठेरा आयोजनाहरू बोलकबोलमार्फत दिन खोजिएको हो । यस्ता आयोजनाहरूमध्ये सबै राम्रा हुन्छन् भन्ने निश्चित छैन । उदाहरणका लागि यसअघि तीन महिनाभित्र पीपीए गरिदिने भनी सुपर सिक्स आयोजनाहरू बोलकबोलबाटै निजी क्षेत्रलाई दिइएको हो । तर पाँच वर्षपछि मात्रै पीपीए भयो ।

सरकारले अब आयोजनाको अध्ययन आफैं गर्ने र ठिक्क पारेर आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने त भनेको छ, तर सरकारले गरेको अध्ययन र डिजाइनमा विश्वास गरेर लगानीकर्ताले लगानी गर्दैनन् । त्यस्तो आयोजनाको लाइसेन्स लिएपछि आफूले पनि डिजाइन र रिभ्यूलगायत काममा दोहोरो खर्च गर्नुपर्छ । सरकारसँग बास्केटमा भएका आयोजना प्रतिष्पर्धा गराएर दिनु ठीक छ । तर, निजी क्षेत्रले लिएको लाइसेन्स खारेज गरेर प्रतिष्पर्धामा दिन खोज्ने नियत ठीक देखिएको छैन । 

अहिले लाइसेन्स लिएर बसेका निजी क्षेत्रका लगानीकर्ताहरूलाई नै आयोजना विकास गर्न दिनुपर्छ । विकास गर्न नसके छ नीतिनियमअनुसार स्वतः लाइसेन्स खारेज हुन्छ । जलविद्युतका मामिलामा सरकारको गति निकै तीव्र देखिन्छ । प्रधानमन्त्रीले भारतको सफल भ्रमण गर्नुभयो । भारतले नेपालमा उत्पादित १० हजार मेगावाट विद्युत किन्ने भनेको थियो । बीचमा धेरै कुरा भए । भारतले मन्त्रीपरिषदले स्वीकृत गर्‍यो ।

बंगलादेशले पनि नेपालको बिजुली किन्न खोज्दैछ । केही दिन अघिमात्रै ऊर्जा मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन बुझाएको छ । त्यो प्रतिवेदनमा सन् २०३५ सम्म नेपाललाई २८ हजार ७०० मेगावाट विद्युत आवश्यक पर्ने उल्लेख छ । १५ हजार मेगावाट निर्यात गर्ने भनिएको छ । यसो भन्दै गर्दा अब त सरकारले ‘तपाईंहरू आउनुस्, आयोजना बनाउनुस्, हामीलाई यति बिजुली आवश्यक पर्छ’ भनी निजी क्षेत्रलाई खुला गरिदिनुपर्छ । यसो गर्दामात्रै सरकारले राखेको विद्युत उत्पादन लक्ष्य हासिल हुनसक्छ ।

नेपाल सरकारले समयमै आयोजना निर्माण सम्पन्न गर्न सक्छ भन्ने कुनै ग्यारेन्टी छैन । तामाकोशी बनाउन नै १२ वर्ष लाग्यो । निजी क्षेत्रलाई आयोजना दिँदा समयमै बन्न सक्छ । किनकी निर्माण अवधि लम्ब्याएर लगानी र ब्याज बढाउन निजी क्षेत्रले चाहँदैन । सरकारका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रलाई अघि बढ्न दिनुपर्छ । निजी क्षेत्रले पनि साथ दिन्छ ।

हालका ऊर्जामन्त्रीले निकै उत्साहका साथ निजी क्षेत्रलाई आयोजना बनाउन भनिरहनुभएको छ । तर, भनेर मात्रै हुँदैन । सहजीकरण गरिदिनुपर्छ । नेपालको निजी क्षेत्रको लगानी पर्याप्त नहुँदा विदेशी लगानीकर्ता ल्याउनुपर्छ । उनीहरूलाई पनि आउने वातावरण बनाइदिनुपर्छ । त्यसैले सरकार पछि फर्कन मिल्दैन । हामीकहाँ ऊर्जा विकासको प्रशस्त सम्भावना छ । अगाडि बढ्ने बाटो खोलिदिनुपर्छ ।

लाइसेन्स खोस्ने र अध्ययन गर्नै पाँच वर्ष लगाइदिने हो भने १० वर्षभित्र जलविद्युत उत्पादनको लक्ष्य हासिल हुन सक्दैन । एउटा ठूलो परियोजना बनाउनै १० वर्षसम्म लाग्ने रहेछ । २८ हजार मेगावाट उत्पादन गर्ने आयोजना तयार पार्न सरकार र निजी दुबैले एक–अर्कोलाई साथ दिनुपर्छ । सरकारले यो बुझ्न जरुरी छ ।

भारत, बंगलादेश र चीनलाई पनि बिजुली बिक्री गर्न सम्झौता भएको छ । प्रचुर सम्भावना देखेर सरकारले निजी क्षेत्रको साटो आफैंले बनाउन खोजेको हो कि ?

सरकारले मात्र बनाउन खोजेको हो भने पनि निजी क्षेत्रलाई कुनै आपत्ति छैन । किनकी व्यापार गर्नका लागि जलविद्युत मात्र होइन, अन्य क्षेत्र पनि छन् । यथार्थ के हो भने सरकारले एक्लै गरेर पुग्दैन । गथ्र्यो भने ११३ वर्ष अवधिमा करिब ११ सय ४९ मेगावाट मात्रै उत्पादन गर्न सकेको छ । यति लामो अवधिमा थुप्रै आयोजना निर्माण हुन सक्थ्यो । हिउँदमा पनि हामी लोडसेडिङमुक्त हुन सक्थ्यौं ।

संसारभर नै सरकारले मात्रै गर्न खोज्दा सफलता प्राप्त भएको छैन । त्यसैले सरकार र निजी क्षेत्र सँगसँगै जानुपर्छ । यसो गर्दामात्रै लक्ष्य चाँडो हासिल हुन्छ । निजी क्षेत्रको पनि विकास हुन्छ । किनकी उसले समयदेखि लागतसम्मका सबै हिसाब जोडेर हेरेको हुन्छ । समयमै काम नसक्दा सावाँब्याज बढी तिर्नुपर्छ । घरखेत नै जान सक्छ । 

सरकारले लाइसेन्स खारेज गरेर आफैंले राख्ने र टेन्डर गरेर धेरै पैसा कमाउने सोच लिनुहुँदैन, यो सानो सोच हो । सरकारले बनाउने आयोजना छिटो सम्पन्न हुन्छ र सस्तो पर्छ भन्ने छैन । तामाकोशी नै यसको उदाहरण हो । ३५ अर्बमा सक्ने भनेको आयोजना बनाउन झण्डै एक खर्ब रुपैयाँ खर्च भयो । 

निजी क्षेत्रलाई नै ‘अघि आऊ, मेरो लक्ष्य यो हो, अबको १२ वर्षमा बाँकी झण्डै २२ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्नुपर्छ’ भनी अघि बढ्नुपर्छ । सरकारलाई सुनौलो अवसर छ । प्रधानमन्त्री र विभागीय मन्त्रीलाई इतिहासमा नाम लेखाउने अवसर छ । सरकारले लाइसेन्स फिर्ता लिएर अध्ययनदेखि निर्माणसम्म हुने ठूलो लागत जुटाउन सक्दैन । त्यसैले केही ठूला आयोजना सरकारले नै बनाउने र धेरै आयोजना निजी क्षेत्रलाई नै बनाउन दिनुपर्छ ।

जलविद्युत उत्पादनमा अहिले थुप्रै नीतिगत समस्या छन्, ती समस्या हटाउनतर्फ लाग्नुपर्छ । आयोजना निर्माण सम्पन्न हुँदै गर्दा प्रसारणलाइन पनि तयार गर्नेतर्फ लाग्नुपर्छ । वन र जग्गाका समस्या हटाउनुपर्छ । ७५ रोपनीभन्दा बढी जग्गा किन्न मन्त्रीपरिषदले निर्णय गर्नुपर्छ । निजी आयोजनाहरूले जलविद्युत आयोजनाको लाइसेन्स अवधि सकिएपछि जमिन र सबै पूर्वाधार सरकारलाई नै बुझाउने हो । यस्ता नीतिनियम सुधार्नुपर्छ । भोलि आयोजना बनाउँदै गर्दा अवरोध हुन नदिन कडा नीतिनियम ल्याउनुपर्छ ।

जलविद्युत क्षेत्रमा निजी क्षेत्रले निकै धेरै लगानी गरेको छ । अब २०/२२ हजार मेगावाट उत्पादन गर्न ५० प्रतिशत लगानी निजी क्षेत्रबाट आयो भने पनि निकै ठूलो आकारको हुन्छ । त्यति धेरै लगानी जुटाउने सामथ्र्य नेपालका बैंक/वित्तीय संस्थासँग नहुन सक्छ । स्रोत कसरी जुटाउने ? 

यसै विषयमा कुराकानी गर्न हामीले हालै नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेट गरेका छौं । उहाँले ‘जलविद्युत उत्पादनमा लगानी गर्न तपाईंहरू डराउनुपर्दैन, यो बिक्री हुन्छ’ भन्नुभएको छ । हामीले बैंक/वित्तीय संस्थाबाट लगानी जुटाउन समस्या परेको छ भन्यौं । गभर्नरज्यूले नआत्तिन र बैंकहरूले लगानी गर्ने भन्नुभयो । 

अहिलेसम्म पीपीए नहुँदा बैंक/वित्तीय संस्थाहरू लगानी गर्न हिच्किचाएका थिए । अब सरकार अघि बढ्ने हो भने बैंकले लगानी नगर्ने कुरा हुँदैन । लगानी गर्ने क्षेत्र नै यही र यस्तै हो । किनकी जलविद्युत क्षेत्र उत्पादनमूखी छ र यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । 

हामीले केन्द्रीय बैंकलाई सरकारको लक्ष्य उल्लेख गर्दै जलविद्युत उत्पादन निम्ति धेरै रकम चाहिने बताएका छौं । प्रत्येक बैंकलाई २० प्रतिशत लगानी जलविद्युत क्षेत्रमा गर्ने पोर्टफोलियो बनाउन निर्देशन दिन अनुरोध गर्‍यौं । हामीकहाँ थुप्रै फण्डहरू छन्, विदेशी लगानी ल्याउन सकिन्छ । ठूला बैंकहरूले नेपालका बैंकमार्फत लगानी गर्छन् । हरित ऊर्जामा गर्ने संस्थाहरू छन् । ती संस्थाबाट लगानी ल्याउने वातावरण अनुकूल बनाइदिन हामीले अनुरोध गरेका छौं । त्यसो गर्दैगर्दा हामीले कम्तिमा पीपीए खोलेर अघि बढ्नुपर्छ ।

अहिले १५ सय मेगावाटको पीपीए खोलिएको छ । त्यतिमात्रै अघि बढाउने हो भने यहीँ भएका बैंक/वित्तीय संस्थाले लगानी गर्न सक्छन् । साँच्चै २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य भने आजैदेखि काम थाल्नुपर्छ । यसलाई राष्ट्रिय सरोकारको रूपमा लिई राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्छ । नीतिगत सुधार गर्नुपर्छ । निजी क्षेत्रलाई कस्ने कानून ल्याएर देश विकास हुँदैन भन्ने सरकारले बुझ्नुपर्छ । विधेयक सांसदहरूको हातमा पुगेको छ । उहाँहरूले बुझेर निर्णय गरिदिनुभयो भने नेपालमा जलविद्युत क्षेत्रको विकासले ठूलो फड्को हान्न सक्छ ।

हामीकहाँ हालसम्म बहुउद्देश्यीय र उदाहरणीय खालका ठूला आयोजना बन्न सकेको छैन । बुढीगण्डकी र पश्चिमसेती जलाशययुक्त आयोजना निर्माण होला र त्यसबाट उत्पादन हुने बिजुलीले हाम्रो अर्थतन्त्रलाई नै कायापलट गराउला भन्ने अपेक्षा पूरा हुन सकेको छैन । यसमा कसको के कमजोरी छ ?

ठूला आयोजना नबन्नुमा केही कारणहरू छन् । पहिलो त ठूलो लगानी जुटाउने अवस्था भएन । दोस्रो : सरकारलाई धेरै बिजुली उत्पादन हुँदा बिक्री हुने हो कि होइन, देशभित्रै खपत गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्यो । अहिलेलाई त्यो द्विविधा हटेको छ । कम्तिमा पनि १५ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने आधार बनिसक्यो । हामीले बिक्री गर्न सकेको खण्डमा त्यो भन्दा बढी माग हुनेवाला छ । अब त सरकारलाई आवश्यक बिजुली कसरी उत्पादन गर्ने भन्ने चिन्ता हुन थालेको देखिन्छ । 

त्यसैले अब उत्पादन गर्नेतिर जोडतोडले लाग्नुपर्छ । भोलि भारतले ‘किनिदिने भनेका थियौं, तिमीहरूले उत्पादन नै गर्न सकेनौ’ भन्न सक्छ । त्यो हाम्रा लागि बिडम्वना हुनसक्छ । त्यसकारण हामी उत्पादनमा लाग्नुपर्छ । सबै नेपाली नागरिकलाई यसबारे बुझाइदिन सक्नुपर्छ । सबै राजनीतिक दलले जलविद्युत उत्पादनको महत्व बुझ्नुपर्छ । पर्याप्त जलविद्युत उत्पादन गर्न सक्दा देश हामीले कल्पना गरेभन्दा पनि माथिल्लो स्तरमा पुग्नसक्छ ।

१० वर्षपछि हामीले साँच्चै १५ हजार मेगावाट बिजुली बेच्न सक्ने हो भने वार्षिक १० खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सक्छौं । देशभित्र १३ हजार मेगावाट खपत गर्ने हो भने वार्षिक २० खर्ब रुपैयाँजति प्रतिफल प्राप्त हुन सक्छ । आज माग्नेको देश परिचय बोकेको नेपाल भोलि दिनेको देशमा बदलिनेछ । कल्पनामात्रै गरेर हुँदैन, सरकारले सहज नीति/नियम र कानून बनाइदिनुपर्छ । सहज वातावरण बनाए निजी क्षेत्रले नै पर्याप्त जलविद्युत उत्पादन गर्न सक्छन् । विदेशबाट लगानी ल्याएर पनि आयोजना विकास गर्न सक्छन् । त्यसैले सरकारले मौकामा हिरा फोर्नुपर्छ ।

सरकारले लिएको लक्ष्य पूरा हुनेमा कति विश्वस्त हुन सकिन्छ ? हामीले पर्याप्त बिजुली उत्पादन गरिरहँदा द्विपक्षीय स्वार्थबाट सृजित हुनसक्ने जोखिम व्यवस्थापन गर्न सक्छौं ?

अहिले भारतले डिजेल, पेट्रोल र कोइला प्रयोग गरी विद्युत उत्पादन गरिरहेको छ । ती जीवाष्म इनधनको धेरै हिस्सा उसले आयात नै गर्ने हो । कच्चापदार्थको स्रोत मुलुकले नदिए भारतले आवश्यक विद्युत उत्पादन गर्न सक्दैन । भोलिका दिनमा भारतले हरित ऊर्जाबारे विश्वलाई जवाफ दिनुपर्ने हुन्छ । कोइला बालेर निकालेको ऊर्जाले उसलाई फाइदा गर्दैन । त्यसैले उसले किन्छ । हामीसँग किन्ने १०/२० हजार मेगावाट त उसका लागि केही पनि होइन । अहिले नै त्यहाँ चार लाख मेगावाट विद्युत उत्पादन भइरहेको छ । 

१० हजारमात्र होइन, हामीले हिम्मत गरेर उत्पादन बढाउँदा धेरै बिजुली भारतलाई बेच्न सक्छौं । बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट नौ हजार मेगावाट बिजुली खरिद गर्ने भनिसकेको छ । तर, हामीले दिन सक्नुपर्छ । त्यति बिजुली उत्पादन गर्न ८/१० वर्ष लाग्ने हुनाले आजैदेखि नीतिगत सुधारमा लाग्नुपर्छ । वन डोर पोलिसी बनाई एकै ठाउँबाट लाइसेन्स दिने व्यवस्था गरी जलविद्युत उत्पादन तीव्र बनाउने अभियान थाल्नुपर्छ । सरकारले आफैं गर्ने भन्ने झन्झटिलो र असफल बाटोमा लाग्नुहुँदैन । सरकार र निजी क्षेत्र दुबैले सँगै उत्पादनमा लाग्नुपर्छ ।

नीतिगत सुधार गर्ने भन्दै जाँदा नेपाल विद्युत प्राधिकरणलाई खण्डीकरण गरेर तीन भागमा बाँडिएको छ । अहिले वितरण अर्थात् बिजुली बेच्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने माग उठेको छ । यो विषयमा इप्पानले कसरी लबिइङ गरिरहेको छ ?

मुख्य कुरा त विद्युत उत्पादन र त्यसको सदुपयोग नै हो । गत साल बर्खायाममा ५०० मेगावाट बिजुली खेर गयो । यो वर्ष पनि खेर गयो । भोलिका दिनमा अझ धेरै उत्पादन हुँदा सदुपयोग नगरे खेर जाने मात्रा बढ्दै जान्छ ।

विद्युत प्राधिकरणले धेरै विद्युत उत्पादन गर्न सकेको छैन । लाइसेन्सहरू त्यत्तिकै बसेको छ । यदि भोलि निजी क्षेत्रले बिजुली बेच्ने जिम्मा पाउने हो भने विद्युत प्राधिकरणले झैं पीपीए गर्न सक्छन् । सीधै स्वदेशमा या विदेशमा बेच्न सक्छन् । नेपालको दूरसञ्चारमा प्रतिष्पर्धी हुँदा नै धेरै विकास भएको छ । त्यसैले निजी क्षेत्र पनि सँगसँगै लाग्ने हो भने धेरै काम हुन सक्छ ।

भारतमा बिजुली बिक्री गर्ने ८० भन्दा बढी कम्पनी छन् । सरकारसँग एक/दुईवटा मात्रै छ । निजी क्षेत्रले त ८० वटासँगै सम्पर्क राखिरहेको हुन्छ । कोइलाबाट निकालिएको भन्दा हरित ऊर्जा अर्थात् जलविद्युतलाई बढी प्राथमिकता दिइन्छ । त्यसैले बेच्न सकिन्छ । सरकार एक्लैले सक्दैन भने हामीलाई पनि लाइसेन्स दिँदा हुन्छ । उत्पादन भएको बिजुली बेच्न सकिन्छ । डराउनु पर्दैन । 

अहिले सरकार पनि यसमा सहमत भएको छ । गत बजेटमै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउने विषय समेटिएको छ । बजेटमा लेखिएका कुरा कार्यान्वयन हुनुपर्छ । अहिलेको विधेयक हाम्रा चासो समेट्दै पारित भयो भने निजी क्षेत्रले पनि यसमा काम गर्न सक्छन् । केही वर्ष समय लाग्न सक्छ, तर निजी क्षेत्र विद्युत व्यापारमा सक्षम हुने बाटो खुल्छ ।

विद्युत उत्पादनसँग सम्बन्धित समस्या समाधान गर्ने भनिएका निकायहरू पारदर्शी नभएको सुनिन्छ । विद्युत विकास विभाग, नियमन आयोग नै रुमल्लिरहेको देखिन्छ । ती निकायको सेवा कति प्रभावकारी छ ?

काम भएको भए अहिले निकै धेरै विद्युत उत्पादन भैसक्थ्यो । तर, हामी सकारात्मक छौं । सरकारले नै २८ हजार मेगावाट विद्युत चाहिन्छ भनिरहँदा एकदिन पनि फाइल रोकिनु भएन । अब प्रधानमन्त्री, मन्त्री, सचिव र विभागीय प्रमुख नीतिगत सुधारमा लाग्नुपर्छ ।

एकै ठाउँबाट सहजीकरण गरिदिनुपर्छ । वित्तीय संस्थाहरूलाई चुस्त बनाएर लगानी गराउनुपर्छ । पीपीए दर एउटै हुने, तर बैंकको ब्याजदर बढिरहने समस्या छ । देश बनाउने क्षेत्र भएकाले जलविद्युतमा गरिने लगानीको ब्याजदर स्थिर राख्नुपर्छ ।

गत वर्षदेखि आर्थिक मन्दीको समस्या बढिरहेको छ । जलविद्युत क्षेत्रलाई यो मन्दीले कस्तो असर गरेको छ ?

बैंकसँगै पैसा नहुँदा स्रोतको समस्या स्वतः भएको छ । संसारभर नै समस्या हुँदा आयोजना निर्माणमा केही ढिलाई भयो । प्रसारणलाइन समयमै नबन्दा अर्को समस्या छ । वन र जग्गाप्राप्तिजस्ता नीतिगत समस्याहरूले पिरोलेको छ ।

स्थानीयको नाममा कुनै ठाउँमा अराजक गतिविधि भएको छ । धेरै ठाउँमा सहयोग हुँदाहुँदै पछिल्ला महिनाहरूमा चार/पाँचवटा आयोजनामा तोडफोड भयो । यस्ता खालका गतिविधि गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । सरकारले साँच्चै २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने हो भने आगामी दशकलाई ऊर्जा दशक घोषणा गर्नुपर्छ । ऊर्जा विकासका लागि जलविद्युत क्षेत्रमा संकटकाल लगाउनुपर्छ भन्ने पनि हाम्रो माग हो । ऊर्जा सुरक्षा नीति घोषणा गर्नुपर्छ । कागजमा मात्रै होइन, कार्यान्वयनमा गम्भीर हुनुपर्छ । पछिल्लो समय केही गम्भीरता देखिएको छ । यो सकारात्मक संकेत हो ।

हामीकहाँ धेरैले जलविद्युतमा लगानी गरिरहेका छन् । अन्य क्षेत्र र जलविद्युत क्षेत्रबीच तुलना गर्दा क्रसहोल्डिङ गर्न नपाइने नियम छ । तर, जलविद्युतमा एउटै व्यक्ति चार/पाँचवटा कम्पनीमा संलग्न देखिन्छन् । कम्पनी दर्ता गर्ने प्रमोटर शेयर बेचेर चलखेल गर्दा लगानी पारदर्शी भएन भन्ने सवाल छ नि !

व्यक्तिले जति पनि निजी कम्पनी खोल्न पाउँछन् । पब्लिक लिमिटेड कम्पनीहरू चाहिँ विषयगत कानूनअनुसार नै सञ्चालन गर्नुपर्छ । एक–अर्को जलविद्युत कम्पनीबीच अहिले प्रतिष्पर्धा छैन । एउटाले आयोजना बनाइसकेपछि उसको पैसा आउँछ । विद्युत प्राधिकरणले बैंकलाई दिन्छ । बैंकले राखेपछि बाँकी रकम लगानीकर्ताले प्राप्त गर्ने हो । त्यसकारण एउटा व्यक्तिले जतिवटा आयोजना बनाएपनि हुन्छ भन्ने हाम्रो तर्क हो ।

अहिलेको विद्यमान नियमअनुसार एउटा आयोजनाको निर्देशक अर्को आयोजनामा उही पदमा बस्न पाउँदैन । धेरै जलविद्युत आयोजनाहरू अहिले पब्लिक कम्पनी भइसकेका छन् । बैंकमा दिएको व्यक्तिगत जमानी नछुट्ने हुनाले अर्को काम गर्दा बाध्यतावश छोड्नुपर्ने हुन्छ । हामीले सेबोनलाई बस्न दिने व्यवस्था गर्न आग्रह गरेका छौं । दुई या तीन वटामा बस्न पाउने व्यवस्था गर्दा हामीलाई सहज हुन्छ । तर, अहिले त्यस्तो छैन । धेरै कम्पनीको अध्यक्ष भएर तलब खान अहिलेको कानूनले दिँदैन । तुरुन्तै कारबाही हुन्छ ।

शेयरका सवालमा एउटा व्यक्तिले कुनै आयोजना बनायो, उसँग अनुभव छ, अर्को आयोजना बनाउँछु भन्दा छुट दिएको छ । बनाउँछु भन्दैमा त्यत्तिकै बनाउन पाइँदैन । विद्युत नियमन आयोगको एउटा निर्देशिका छ । नयाँ आयोजना कस्तो हो ? त्यो आयोजनाको पीपीए भएको छ कि छैन ? फाइनान्सियल क्लोजर भएको छ कि छैन ? लाइसेन्सको अवस्था कस्तो छ ? सबै हेरेर मात्रै लगानी गर्न पाइन्छ । आयोगले नियमन गरिरहेको हुन्छ । नेपाल धितोपत्र बोर्डले पनि सबै कुरा हेरेर लगानी गर्न दिन्छ ।

त्यसैले शेयर बजारमा लगानी गर्दा आयोजना र कम्पनीको अवस्था हेर्नुपर्छ । बजार कुद्‍यो भनेर मात्रै लगानी गर्नु उपयुक्त हुँदैन । सुझबुझपूर्वक लगानी गर्दा शेयरधनीहरू पनि फस्ने जोखिम रहँदैन । उसको वासलात हेरी फाइदा लिन सकिन्छ कि सकिँदैन भन्नेमा जानकार हुनुपर्छ ।

नेपालमा अहिले निर्माणपछि बैंकहरूले लगानी गरेको सबैभन्दा उद्योग जलविद्युत नै हो । भारतले बिजुली किनेन या हामीले निर्यात गर्न सकेनौं भने ठूला वित्तीय संस्थाहरू पनि संकटमा पर्छन् भन्ने सुनिन्छ । यथार्थ कुरा के हो ?

कतिपय सन्दर्भमा सत्यता छ । तर, भारतले किन्दैन भनेर सोच्नु नै गलत हो । उसले किन्छ र किन्नैपर्ने वाध्यता छ । उसँग स्वच्छ ऊर्जा छैन र जलविद्युत उत्पादन गर्ने धेरै ठाउँ पनि छैन । भारतले सन् २०४५ सम्म कार्बन उत्सर्जन ४५ प्रतिशतले घटाउने र सन् २०७० सम्म शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

अहिले त भारतले सन् २०७० सम्म कार्बन नेट जिरो गर्न सक्दैन भन्ने खबर आइसकेको छ । कम्तिमा घटाउनुपर्ने बाध्यता त उसलाई छँदैछ । त्यसो गर्न उसलाई जलविद्युत नै चाहिन्छ । नेपालमा पनि हामीले लक्ष्य राखेका छौं । विश्वमा ऊर्जा खपत दिनानुदिन बढिरहन्छ । हरित ऊर्जाको माग बढिरहेको छ । कार्बन उत्सर्जन बढिरहँदा हरित ऊर्जा प्रयोग गर्न संसारभर नै दबाब छ । त्यसैले विद्युत उत्पादन बढाउँदै जानुपर्छ । 

अहिले जलविद्युत क्षेत्रमा वित्तीय संस्थाहरूको लगानी कति छ ? 

करिब १३ खर्ब रुपैयाँ लगानी भएको भनिएको छ । यो रकम हाल निर्माणाधीन करिब आठ हजार मेगावाटका आयोजनामा भएको लगानीसमेत हो । धेरै आयोजनाहरू अध्ययन क्रममा छन् । करिब १० हजार मेगावाटका आयोजनाको पीपीए गर्न आवेदन भएको छ । 

हाल निर्माणाधीन आयोजना सम्पन्न गर्न र २८ हजार मेगावाट उत्पादन पुर्‍याउने लक्ष्य भेट्न हामीलाई १२ वर्षमा ४० खर्ब रुपैयाँभन्दा धेरै लगानी आवश्यक पर्छ । देशको सबैभन्दा ठूलो क्षेत्र पनि यही हुन्छ । जलविद्युतमै देशको अर्थतन्त्र जोडिनेछ । यही क्षेत्रले देशलाई सम्पन्न बनाउन सक्छ । 

विदेशी लगानीको अवस्था चाहिँ के छ ?

अहिले नै धेरै वैदेशिक लगानी आइसकेको छैन । किनकी भारी लगानी चाहिनेगरी हामीकहाँ विकास भैरहेको छैन । जम्माजम्मी २८ सय मेगावाट विद्युत उत्पादन भएको छ । अब २८ हजार मेगावाट उत्पादन लक्ष्य पूरा गर्ने हो भने केही ठूला आयोजनामा वैदेशिक लगानी आवश्यक पर्न सक्छ ।

वैदेशिक लगानीकै कुरा गर्दा संसारमा २०० भन्दा बढी देश छन् । नेपालमै लगानी गर्नुपर्ने औचित्य सरकारले पुष्टि गर्नुपर्छ । सरकारले ‘लगानी गर्न आउनुस्, हामी वातावरण बनाइदिन्छौं’ भनेर स्वागत गर्नुपर्छ । हामीले वातावरण दिनुपर्छ । उचित वातावरण बनाइदिँदा हरित ऊर्जामा लगानी गर्न ठूला लगानीकर्ताहरू आउँछन् । 

विदेशी लगानी भित्र्याउन राज्य र निजी क्षेत्रले के गर्नुपर्छ ?

सबैभन्दा महत्वपूर्ण काम नै नीतिगत सहजीकरण र सुधार हो । जग्गादेखि वनसम्मका समस्या हटाउनुपर्छ । आयोजनाको सुरक्षाका समस्या हटाउनुपर्छ । २९ विभाग, सात मन्त्रालय र २०० वटा सरकारी कार्यकक्ष धाउनुपर्ने झन्झट अन्त्य गर्नुपर्छ । सबैतिर कुद्नुपर्ने बाध्यता हटाई ऊर्जा मन्त्रालयको एउटा टेबलबाटै जलविद्युत आयोजना अघि बढाउने वातावरण बनाइदिनुपर्छ ।

विदेशी लगानी ल्याउन थुप्रै चरण र प्रकृया पार गर्नुपर्छ । कम्पनी खोल्न नै एक वर्षसम्म लाग्ने गरेको छ, यो अवस्था हटाउनुपर्छ । विदेशबाट रकम ल्याउन सहजीकरण गर्नुपर्छ । अब तत्कालै पीपीए खोलिदिनुपर्छ ।