शीर्षकहरू

जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली । तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत् उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग पुर्याएको हो । 

निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उनको भनाइ थियो । रु ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उनले बताए । 

विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त आयोजनामार्फत् व्यास नगरपालिका–५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम भइरहेको हो । 

भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रु एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवन १८ महिनाभित्रमा निर्माण गर्ने लक्ष्य छ । आयोजनाबाट पीडित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत् नाला, तटबन्ध  र  आमा समूहको भवन निर्माणका साथै  सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । 

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको उनको भनाइ थियो  । प्रवन्ध सञ्चालक श्रेष्ठले भने, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”