यहि असोज १० गते बुधबार फर्निचर एक्स्पोको नवौँ संस्करण (फर्नेक्स २०२३) आयोजना हुँदै छ । काठमाडौँको भृकुटीमण्डपमा ५ दिन सम्म चल्ने उक्त एक्स्पोको उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्ने भएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले ‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने मुख्य 'थिम' सहित एक्स्पो आयोजना गरेको हो । आयोजकका अनुसार नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको छ । यसमा फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरू सहभागी हुँदैछन् । सो एक्स्पोबारे आर्थिकन्युज डटकमले नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:
फर्निचर एक्स्पो नवौँ संस्करणमा आइपुग्दा यसले फर्निचर उद्योगलाई कतिको मद्दत पुर्याएको छ ?
एक्स्पोले फर्निचर उद्योगहरूलाई राम्रो टेवा पुर्याइरहेको छ । नागरिकहरूको चाहाना बढेको छ । उपभोक्ताहरूको माग पनि बढेको छ । पहिलो फर्निचर आवश्यकता थियो भने अहिले आवश्यकतासँगै मानिसहरूको सोख पनि बनेको छ । फर्निचर एक्स्पोले सम्पूर्ण फर्निचरका सामानहरू एउटै छानामुनि उपलब्ध गराएको छ ।
यहाँ कम मूल्यदेखि बढी मूल्यसम्मका फर्निचर लगायत सजावटका सामानहरू उपलब्ध हुन्छन् । यस एक्स्पोमा फर्निचरको वास्तविक बनावटको बारेमा समेत जानकारी हुन्छ । उपभोक्ताले आफ्नो बजेट अनुसारको सामान खरिद गर्न सक्छन् ।
एक्स्पोमा सहभागी हुने व्यवसायीहरूले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् । त्यस्तै, सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।
ग्राहकहरूलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामाग्रीहरू उपलब्ध गराउन यो एक्स्पो महत्त्वपूर्ण हुने छ । फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ ।
यसअघिका एक्स्पो भन्दा यस वर्षको एक्स्पोमा के फरकपन महसुस गर्न पाइन्छ ?
हामीले हरेक वर्ष एक्स्पो गर्दा केही न केही नयाँ गर्दै आएका छौँ । यसअघिको भन्दा यस वर्ष हलको संख्या पनि हामीले बढाएका छौँ । स्टोरको संख्या पनि बढेको छ । यसमा ६० प्रतिशत भन्दा बढी स्वदेशी उत्पादनको सामानहरू हुन्छ भने ४० प्रतिशतको हाराहारीमा विदेशी सामानहरू हुन्छन् ।
आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ । एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरूको सहभागिता रहनेछ । अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचर उपलब्ध गराउनुका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ । एक्स्पोस्थलमा नै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।
कति स्टलहरू सहभागी हुँदैछन् ?
एक्स्पोमा १०० भन्दा बढी स्टलहरू रहने छन् । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ ।
नयाँ प्रविधिबाट बनेका केही फर्निचरहरू पनि हुन्छन् की पुरानै छन् ?
हामीले पुरानादेखि आजको नयाँ प्रविधिसँग सम्मिलित भएर नै एक्स्पो गर्न लागेका छौँ । हरेक कम्पनीले केही न केही नयाँ गरेर ल्याएको हुन्छ । मानिसहरूको माग अनुसार नै बनेका वस्तुहरू उपलब्ध हुनेछन् । हामीले नयाँ नयाँ डिजाइनहरू ल्याउन सकेनौँ भने उनीहरूले सधैँ पुरानो भनेर आउन नै रुचाउनु हुन्न नि । त्यसले गर्दा पनि नयाँ ल्याउनै पर्छ ।
आर्थिक मन्दीको समयमा एक्स्पो गर्न लाग्नु भएको छ, भिजिटरहरु कतिको आउने अपेक्षा छ ?
फर्निचर भनेको आजको दिनमा अति आवश्यक सामान बनिसकेको छ । यससँगै फर्निचरको सामान आजको दिनका सोख पनि बनेको छ । मानिसहरूको जीवनशैलीमा पनि परिवर्तन भएको छ । अहिलेको अवस्थामा अर्थतन्त्र लगायत वातावरण सहज छैन । तर पनि हामी निरन्तररुपमा गर्दै आएको यो एक्स्पो यस वर्ष पनि गर्न लागेका छौँ ।
यो एक्स्पो ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । कारोबारको कुरा गर्ने हो भने हामीले त्यहाँ खुल्लमखुल्ला व्यापार गर्ने भन्दा पनि अवलोकनकर्ताहरूलाई देखाउने हो । त्यहाँबाट हेरिसकेपछि कुन ठाउँमा कसरी सहज हुन्छ त्यसरी लिन सकिन्छ ।
मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सङ्घले पहलकदमी लिँदै आएको छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा 'मेड इन नेपाल' फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवर्द्धनको अवसर पाउने अपेक्षा छ ।
सबै नेपाली उत्पादन राख्न सकिँदैन थियो र ४० प्रतिशत बाहिरबाट ल्याउन लागिएको हो ?
यो व्यापार भनेको ‘गिभ एण्ड टेक’ हो । हामी हरेक चिजमा १०० प्रतिशत हुन्छौँ भन्न पनि सकिँदैन । विभिन्न ठाउँमा आफ्नो आफ्नो टेक्नोलोजी अनुसार नै हुन्छ । केही चिज उनीहरूबाट हामीले सिक्छौँ भने केही उनीहरूले हामीबाट सिक्छन् । हामी फर्निचरमा आत्मनिर्भर हुनका लागि फड्को मारिरहेका छौँ । कुनै दिन निर्यात गर्न सक्ने पनि हुनसक्छौं ।
पहिलो कुरा त हामीले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने हो । हामीसँग स्वदेशी सामानहरू पर्याप्त हुँदाहुँदै विदेशी सामानहरू पनि आयात गरिरहेका हुन्छौँ । यसो हुनु भनेको विदेशी सामान केही नयाँ भएकोले उपभोक्ताको माग बमोजिम आयात गरेका हौँ ।
नेपालमा फर्निचर उद्योगमा कतिको लगानी छ ?
आजको दिनमा यस क्षेत्रमा खर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।
यस उद्योगका लागि स्वदेशी कच्चा पदार्थले नै पुगिरहेको छ की बाहिरबाट पनि आयात गर्नु पर्ने बाध्यता छ ?
कुनै पनि उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थ पर्याप्त हुँदैन । कतिपय कच्चा पदार्थहरू आयात गर्नु पर्ने पनि हुन्छ । हाम्रो उद्योगलाई सबैभन्दा बढी चाहिने भनेको काठ नै हो । तर, हामीलाई सहजपुरमा काठ नदिई कुहाएर खेर फालेको अवस्था छ । यो दुर्भाग्य कै कुरा छ ।
काठ कुहाएर फाल्नु हुँदैन उपयोग गर्नु पर्छ भनेर हामीले धेरै ठाउँमा गएर माग गरिरहेका छौँ । व्यवसायीहरूलाई सहजपुरमा काठ दिनु पर्छ भनेर भनिरहेका छौँ । हामीले नेपालकै काठ उपयोग गर्न पाउने हो भने आयात गर्नु पर्ने बाध्यता हट्ने थियो ।
फर्निचरमा नेपाली मौलिकतालाई कतिको प्राथमिकता दिनु भएको छ ?
हामीले हाम्रो मौलिकतालाई पहिलो प्राथमिकतामा नै राखेका हुन्छौँ । हाम्रो आँखीझ्याल विश्व मै प्रख्यात छ। तर, हाम्रोमा दक्ष कामदारको अभाव भइरहेको अवस्था छ । पुर्खाको सिप नयाँ पुस्तालाई सिक्नका लागि त्यस्तो कुनै सिक्ने ठाउँहरू नभएकोले नयाँ कामदार पाउनै मुस्किल छ । यसले गर्दा हाम्रो उद्योगमा केही न केही धक्का पुगेको छ । यसले हामीलाई गाह्रो स्थिति छ ।
हाम्रोमा भएका कामदारहरू पनि नेपालमै टिकाउन गाह्रो छ । केही दिन सिप सिकेर विदेश पलायन भइहाल्छन् । यहि क्षेत्रमा सिकेर नेपालकै अर्थतन्त्रमा टेवा दिनु पर्छ भनेर लाग्ने गरेका कामदार छैनन् । फर्निचर उद्योगमा कामदारहरू दिगोरुपमा टिकाउनै समस्या छ ।