शीर्षकहरू

यूरोपेली संघले चिनियाँ कारमा अनुदान छानबिन गर्ने

यूरोपेली संघले चिनियाँ कारमा अनुदान छानबिन गर्ने

एजेन्सी । यूरोपेली संघ (ईयू) का व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण यूरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन संघर्ष गरिरहेको बताएका छन्‌ । 

व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्र राष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको जोखिम’ निम्त्याएको बताएका हुन्‌ ।

यूरोपेली समूह र चीनबीच व्यापार तनाव बढिरहेका बेला उनले पारदर्शिता र खुलापन ‘दीर्घकालीन विजयको रणनीति’ भएको बताए । उनले भने, ‘चीन लगानीमा आधारित अर्थतन्त्रमा व्यापक चुनौतीपूर्ण सङ्क्रमणबाट गुज्रिरहेको छ । यसका लागि यो खुला रहन आवश्यक छ ।’

‘ईयू चेम्बर अफ कमर्स’को व्यावसायिक आत्मविश्वास वर्षौंको सबैभन्दा कम स्तरमा रहेको देखिएका एक रिपोर्टपछि डोम्ब्रोवस्कीसको चार दिने भ्रमण शनिबार सुरु भएको हो ।

ब्रसेल्सले बेइजिङको विद्युतीय कार अनुदानको छानबिन सुरु गर्ने निर्णय पनि गरेको छ । यस अनुसन्धानपछि ईयूले कम मूल्यमा अनुचित रूपमा बेचिएका भनिएका चिनियाँ सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर यूरोपेली कार निर्माताहरूलाई संरक्षण गर्ने प्रयास गर्न सक्छ ।

चीनको वाणिज्य मन्त्रालयले ईयूको ‘नग्न संरक्षणवाद’ को निन्दा गरेको छ र यो कदमले ‘चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने’ बताएको छ ।

सोमबार डोम्ब्रोभस्कीसले चीन यूरोपेली व्यवसायका लागि आकर्षक लगानीको अवसर रहेको बताएका थिए । ‘ईयू र चीन दुवैले विश्वका लागि खुला हुँदा धेरै फाइदा उठाएका छन्,’ उनले भने । ‘यदि शर्तहरू सही रहेमा यूरोपेली कम्पनीहरू अझै पनि यहाँ लगानी गर्न चाहन्छन् ।

चीनमा यूरोपेली व्यापारका लागि बढ्दो चुनौतीको अर्थ यो हो कि ‘विगतका दशकहरूमा धेरैले दुबैको जीत हुने सम्बन्धको रूपमा हेरेको कुरा आगामी वर्षहरूमा दुबैको हारमा परिणत हुन सक्छ,’ आयुक्तले भने ।

डोम्ब्रोवस्कीसले भने, ‘विदेशी प्रतिबन्धहरूको सामना गर्ने उद्देश्यले बनाइएको नयाँ विदेश सम्बन्ध कानून र चीनको कडा जासुसी विरोधी नियमहरूको हालैको परिवर्तन ‘हाम्रो व्यापारिक समुदायको लागि ठूलो चिन्ताको विषय’ हो ।