शीर्षकहरू

क्यानाडाका रक्षामन्त्रीले भने, ‘भारत वार्तामा बसोस्‌’

क्यानाडाका रक्षामन्त्रीले भने, ‘भारत वार्तामा बसोस्‌’

एजेन्सी । क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका हुन्‌ ।

सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भने, ‘म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकहरूलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ उनीहरूले साथीहरू बनाउनको लागि साझा आधार फेला पार्नेछन् ।’ ब्लेयरले कूटनीतिक विवादले भारतीय–क्यानाडेली नागरिकमा पार्ने प्रभावबारे आफू जानकार रहेको बताए ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता क्यानाडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली काण्डमा भारतको संलग्नता रहेको आरोप लगाएपछि तनाव चर्किएको छ । गत जुन १८ मा क्यानाडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । 

क्यानाडाले भारतलाई निज्जरको मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ट्रुडोले भारतद्वारा आतंकवादी घोषित निज्जरको हत्यामा नयाँ दिल्लीको कथित संलग्नताबारे ओटावाले ‘भारतसँग रचनात्मक रूपमा काम गर्न’ चाहेको बताएको छ ।

क्यानाडाका रक्षामन्त्री ब्लेयरले भने, ‘मैले जारी अनुसन्धानमा यति धेरै जोड दिएको छु कि यसका कारण हामीले विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं, ताकि हामी र भारत सरकारले सत्य जान्न सक्छौं, तथ्यहरू प्राप्त गर्न सक्छौं र त्यसपछि यसलाई उचित तरिकाले समाधान गर्न सँगै काम गर्न सक्छौं । म कुनै पनि तरिकाले अनुसन्धानको अखण्डतामा आँच आउने कुनै पनि कुरा भन्न गइरहेको छैन, यो धेरै महत्त्वपूर्ण छ ।’

यसैबीच भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतंकवादी, अतिवादी र सङ्गठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र  ‘बढ्दो प्रतिष्ठा’ को रूपमा पनि क्यानाडालाई उल्लेख गरेको छ ।

ब्लेयरले सीबीसीका प्रमुख राजनीतिक संवाददाता रोजमेरी बार्टनसँग भने, ‘हामीले हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरून् किनभने यसको परिणाम धेरै महत्वपूर्ण छ ।

सीबीसी न्यूजका अनुसार ब्लेयरले क्यानाडाले आफ्ना सहयोगी मुलुकबाट के–कस्तो गुप्तचर सूचना प्राप्त गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने अस्वीकार गरे ।