शीर्षकहरू

काठमाडौंमा चोरको बिगबिगी, एकैदिन तीन घरबाट १७ लाखको धनमाल चोरी

काठमाडौंमा चोरको बिगबिगी, एकैदिन तीन घरबाट १७ लाखको धनमाल चोरी

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा चोरको बिगबिगी बढेको छ । आइतबार एकै दिन उपत्यकाभित्र तीन घर लुटिएको उजुरी प्रहरीमा परेको हो ।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-२९, घट्टेकुलो चोक नजिकै दिउँसै चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको छ । स्थानीय चन्द्र केशरी बज्राचार्यको घरम कोही नभएको अवस्थामा नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामानहरू गरी करिब ६ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो । 

भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३, गठ्ठाघरमा पनि आइतबार दिउँसै चोरी भएको छ । अरनिको बस्तीमा डेरा गरी बस्ने मोरङ घर भएका सबिन निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब १ लाख ७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । 

यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-४, दधिकोट नयाँबस्ती बस्ने सानुमाया चित्रकारको कोठाबाट आइतबार राति नै करिब ९ लाख ६५ हजार ७ सय रूपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।