काठमडौं । अहिले देशभरका शिक्षक आन्दोलित छन् । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना नै शुरु गरेका छन् ।
धर्नामा विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको संलग्नता छ । अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन गर्नु पर्ने उनीहरुको माग छ ।
विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकहरुलार्य कारबाही गर्न काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले निर्देशन दिएका छन् । उनले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएका हुन् । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने महानगरको भनाई छ ।
यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।
विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”