
काठमाडौं । मध्य युरोपेली मुलुक पोल्याण्डमा हालै सार्वजनिक भएको एउटा ठूलो भ्रष्टाचार काण्डले नेपाललाई समेत पिरोल्ने देखिएको छ । लगभग एक अर्ब २५ करोड अमेरिकी डलरको त्यो घुसकाण्ड आप्रवासी नागरिकसँग सम्बन्धित रहेकोले नेपालमा समेत त्यसको असर पर्ने अनुमान लगाइएको हो ।
पोल्यान्डका भारत लगायत एसिया, अफ्रिका र मध्य पूर्वी मुलुकहरूमा रहेका दूतावासहरूले आप्रवासीहरूबाट ठूलो मात्रामा रकम लिएर कामदार भिसा बिक्री गरेको अनुसन्धानमा देखिएको समाचार सार्वजनिक भएपछि त्यसले पुरै युरोपमा नै हल्लीखल्ली मच्चिएको छ ।
'भिसाका लागि नगद' लिने गरेको यो काण्डमा पोलिस दूतावासहरुले सन् २०२१ यता एसिया र अफ्रिकाका आप्रवासीहरूलाई घुस लिएर नगदको बदलामा लगभग अढाई लाख भिसा जारी गरेको देखिएको छ। भारत, फिलिपिन्स, सिङ्गापुर, हङकङ, ताइवान र अन्य ठाउँमा पोलिस वर्क भिसा जारी गर्ने क्रममा भएको अनियमितताबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरूले बताएको स्थानीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यो काण्डमा प्रारम्भिक अनुसन्धानमा नै दोषी देखिएका पोल्याण्डका उप-विदेश मन्त्री पिओटर वावर्जिकलाई त्यहाँका प्रधानमन्त्रिले बर्खास्त गरिसकेका छन् । मन्त्रीले आफ्नै मन्त्रालयका एक कर्मचारीको सहयोगमा सबै तिरका दूतावासबाट प्रति भिसा ५ हजार अमेरिकी डलर लिएर कामदार भिसा बिक्री गरेको खुलासा भएको थियो । बर्खास्तीमा परेका उनले आफ्नै घरमा आत्महत्याको प्रयास समेत गरेका थिए तर समयमा नै प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्नाले त्यो सफल हुन सकेन ।
कसरी पर्छ नेपालमा असर ?
पोल्याण्डमा कामदार भिसामा ठूलो सङ्ख्यमा नेपालीहरू गएका छन् । पछिल्लो समयमा आवेदन दिने जति सबैको भिसा लाग्छ भन्दै पोल्याण्डमा कामदारको रूपमा युवा पठाउन नेपालका पनि धेरै म्यानपावर व्यवसायी सक्रिय रहेका थिए । समाचारमा उल्लेख भए अनुसार त्यस्ता मेनपावरहरुले प्रतिव्यक्ति ४० हजार अमेरिकी डलरसम्म असुल गरेर भिसा लगाउने रजिस्टर्ड दलाल कम्पनी भीएफएस ग्लोबललाई बुझाउने गरेका थिए । भिसा प्रक्रियाको सहयोगी सो संस्था र मन्त्रालय देखी बुतादाससम्मको मिलेमतोमा यसरी भिसा प्रदान गरेको खुलासा भएपछि त्यसरी पोल्याण्ड प्रवेश गरेकाहरूलाई फिर्ता पठाउनु पर्छ भन्ने आवाज समेत उठ्न थालेको छ ।
नेपालीहरूले सामान्यतया एक जना बारबार १३ देखी १५ लाख रुपैयाँ खर्च गरेर त्यस्तो भिसा प्राप्त गर्दै आएका थिए । अब थप भिसा प्राप्त नहुने पक्का छ । किनकि त्यहाँको सरकारले दलाली संस्था भीएफएस ग्लोबलसँगको सम्झौता रद्द गरिसकेको छ । यसरी धेरै नेपाली युवाको आकर्षक गन्तव्य बन्दै गएको पोल्याण्ड र अन्य युरोपेली मुलुकमा अब सहज प्रवेश प्राप्त नहुने हुँदा त्यहाँ असुरक्षित र अवैधानिक मानव तस्करी हुने र नेपाली युवा समेत त्यसको सिकार बन्ने सम्भावना बढेको छ ।
त्यो भन्दा खतरनाक पक्ष त के छ भने यदि युरोपले त्यहाँ पुगेका कामदारलाई घुस खुवाएर छिरेका भन्दै खोजी खोजी फिर्ता पठायो भने हजारौँ नेपालीको ठूलो रकम डुब्ने देखिएको छ । यस्तो चिन्ता किन बढेको हो भने पछिल्लो समयमा पोल्याण्डमा सेन्जेन भिसा आवेदन गर्ने लगभग सबैलाई भिसा प्राप्त हुँदै आएको थियो ।
भारतको नयाँ दिल्लीमा रहेको पोलिस दूतावासबाट मात्र नभएर खाडी मुलुकमा रहेका नेपाली कामदारले त्यतैबाट समेत भिसा आवेदन गर्ने र उतैबाट पोल्याण्ड जाने गरेका थिए । कतिपयले भने सेन्जेन भिसालाई अमेरिका छिर्ने गेट वेको रूपमा समेत प्रयोग गर्दै आएका थिए किनकि सेन्जेन भिसा भएकालाई मेक्सिकोले सहजै आफ्नो देशमा प्रवेश अनुमति दिने गरेको छ । मेक्सिको पुगेका नेपालीहरू त्यहाँबाट अवैधानिक रूपमा अमेरिका छिर्ने गरेका छन् ।
के हो भीएफएस ग्लोबल ?
भिसा एप्लाई गर्दा मानिस आफै दूतावास जाँदा दूतावासले र व्यक्ति दुवैले धेरै झमेला बेहोर्नुपर्ने हुन्छ। त्यसैले भीएफएस ग्लोबल नामको एक प्राइभेट एजेन्सीको सहयोग लिन्छन्, अधिकांश दूतावासहरू हिजोआज। भारतबाट सुरु भएर अहिले सय भन्दा धेरै देशमा शाखा फैलाएको यस एजेन्सीले ग्राहक देखि डकुमेन्ट लिएर दूतावाससम्म र भिसा निर्णय आएपछि ती डकुमेन्ट व्यक्ति सम्म फिर्ता गर्न पुलको काम गर्छन्।
यस्ता संस्थासँग आवेदकको फिंगरप्रिन्ट लिने सम्मका अधिकार हुन्छन्। अर्थात् यी प्राइभेट अफिसमा लिएका फिंगरप्रिन्ट सिधै एम्बेसीले पाउँछ। कोभीड-१९ पछि यो संस्था असाध्यै बढी फस्टायो। तर, बेलाबेलामा यस्ता घोटाला काण्डले बदनाम भइराखेको यस संस्थासँग यो ठूलो काण्डपछि अब पोल्याण्ड एम्बेसीले सम्बन्ध टुङ्ग्याउने भएको छ ।
प्रतिक्रिया दिनुहोस